Butwal Today

बागलुङमा पहिरोको जोखिम बढ्योः ८ घरमा क्षति, ४० घर उच्च जोखिममा

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा पहिरोका कारण आठ घरमा क्षति पुगेको छ भने ४० घर उच्च जोखिममा परेका छन् ।

मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो । निसीखोला–२ का वडाध्यक्ष कुवीर विश्वकर्माका अनुसार पहिरोका कारण ४० घर उच्च जोखिममा परेका छन् । पहिरोले स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्‍याएको छ । कतिपय घरका पाली भत्किनुका साथै छानो उप्किएको र घर चर्किएको उनले बताए ।

पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ ।

वडाध्यक्ष विश्वकर्माका अनुसार उपल्लो बेङ्ग्रीमा गएको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको छ । लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै उनले जोखिममा रहेका परिवारलाई सतर्क रहन आग्रह गरेका छन् ।

उनका अनुसार काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा समेत पहिरो खसेपछि आसपासका बस्ती जोखिममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?