© 2026
सिद्धार्थनगर । अटिजम भएका बालबालिकाको समयमै पहिचान, उचित मार्गदर्शन र पारिवारिक स्वीकार्यताका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भैरहवामा अटिजमसम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अटिजमलाई समस्याका रूपमा मात्र नहेरी बालबालिकाको क्षमता पहिचान गर्दै आवश्यक सहयोग र समावेशी वातावरण प्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।
हेभन्ली गार्डेन किड्स क्याम्पसद्वारा आयोजित उक्त कार्यक्रममा प्रशिक्षकद्वय डा. उत्सव कार्की र समिद कतिला श्रेष्ठले अटिजम भएका बालबालिकाको विकासका लागि समयमै पहिचान र आवश्यक सहयोग महत्त्वपूर्ण हुने बताए । अभिभावक, विद्यालय तथा समुदायमा अटिजमसम्बन्धी सही बुझाइ र स्वीकार्यता बढाउनुपर्ने उनीहरूको भनाइ थियो ।
हेभन्ली गार्डेन किड्स क्याम्पसकी प्राचार्य रचना क्षेत्रीले अटिजम तथा विशेष आवश्यकता भएका बालबालिकाका लागि सरकारले अघि सारेको सामान्य समावेशी शिक्षा नीति मात्र पर्याप्त नभएको बताइन् । विद्यालय र परिवारले बालबालिकाको व्यक्तिगत आवश्यकता र क्षमतालाई बुझेर थप सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
शिक्षा क्षेत्रमा २०–२५ वर्ष र विद्यालय सञ्चालनमा १९ वर्षभन्दा बढीको अनुभवका आधारमा विशेष आवश्यकता भएका बालबालिकाका अभिभावकमा अझै पनि पर्याप्त सचेतना र स्वीकार्यता विकास हुन नसकेको क्षेत्रीले बताइन् । कतिपय अभिभावकले आफ्ना बालबालिकामा देखिएका फरकपनलाई स्वीकार गर्न कठिन मान्ने गरेको उनको अनुभव छ ।
उनका अनुसार हेभन्ली गार्डेनमा एक जना बालबालिकाबाट सुरु भएको अभियानमा अहिले २५ देखि ३० जना बालबालिका जोडिएका छन् । तीमध्ये धेरै बालबालिकामा सुधार आएपछि मूलधारका विद्यालयमा अध्ययन गर्नसमेत सफल भएका छन् ।
प्राचार्य क्षेत्रीले १५ वर्षमुनिका बालबालिकालाई समयमै पहिचान गरी आवश्यक मार्गदर्शन र तालिम दिन सके सुधारको सम्भावना उच्च हुने बताइन् । यही कारण अटिजम भएका बालबालिकाका अभिभावकलाई सचेत गराउने र आवश्यक सहयोगका उपायबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अभिभावक किशोर पङ्गेनीले आफ्ना दुई वर्षीय छोरामा अटिजमका लक्षण देखिएपछि नजिकैको मन्टेसरीमा भर्ना गरे पनि दुई वर्षसम्म अपेक्षित विकास नदेखिएपछि आफू चिन्तित भएको अनुभव सुनाए । पछि हेभन्ली गार्डेन किड्स क्याम्पसमा परामर्श लिएर बालकलाई भर्ना गरेपछि उल्लेख्य तथा सकारात्मक परिवर्तन आएको उनले बताए ।
अटिजम भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानलाई अन्य बालबालिकासँग तुलना नगरी धैर्य र फरक दृष्टिकोणका साथ अघि बढाउनुपर्नेमा पंगेनीको सुझाव छ । आफ्नो छोराको अवस्थालाई आफूले दुःखका रूपमा नभई जीवनको एउटा अवसरका रूपमा स्वीकार गरेको बताउँदै उनले बालकको यात्रामा जीवनभर साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा स्थानीय तहको महिला तथा बालबालिका शाखाका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो । विद्यालयले अटिजम तथा अपाङ्गता भएका व्यक्तिहरूसम्बन्धी स्थानीय तथ्याङ्क र पहुँच विस्तारमा समेत सहकार्य गर्दै समुदायस्तरमा सचेतना बढाउने प्रयास भइरहेको जनाएको छ ।