Butwal Today

इन्डोनेसियामा शक्तिशाली भूकम्प: मृतक सङ्ख्या ४७ पुग्यो

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् ।

भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।

फ्लोरेस टापुका विभिन्न क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार ७.७ म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पले फ्लोरेस टापुको अधिकांश भाग हल्लाएको थियो । यसको धक्का छिमेकी पश्चिमी नुसा तेङ्गारा र दक्षिणी सुलावेसीका केही क्षेत्रमा समेत महसुस गरिएको थियो । विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पबाट ९०० भन्दा बढी घर ध्वस्त भएका छन् भने करिब ४५० घरमा क्षति पुगेको छ । करिब पाँच हजार मानिस अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।

शक्तिशाली परकम्पको डरले अन्य हजारौँ बासिन्दाले रात खुला आकाशमुनि बिताएका छन् । विद्यालय, स्वास्थ्य केन्द्र र चर्चलगायत कम्तीमा १६७ वटा सार्वजनिक संरचनामा क्षति पुगेको छ । राहतकर्मीहरूले चामल, तयारी खाना, खानेपानी, कम्बल र औषधि वितरण सुरु गरेका छन् । विस्थापितका लागि आपत्कालीन आश्रयस्थल निर्माण भइरहेको छ ।

अधिकारीहरूका अनुसार विद्युत् तथा सञ्चार सेवा पुनःस्थापना गर्नु र पहिरोका कारण सम्पर्कविच्छेद भएका दुर्गम गाउँमा राहत पुर्‍याउनु मुख्य चुनौती बनेको छ । भूकम्पबाट कोमोडो राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा परिचित लाबुआन बाजो पनि प्रभावित भएको छ । पहिरोका कारण फ्लोरेसका विभिन्न बस्ती जोड्ने करिब ७०० किलोमिटर लामो ट्रान्स–फ्लोरेस राजमार्गका केही खण्ड अवरुद्ध भएका छन् ।

धेरै बासिन्दाले क्षतिग्रस्त घरमा फर्किनुभन्दा बाहिरै रात बिताएका छन् । लाबुआन बाजोकी किसान अनास्तासिया इमादले भूकम्पको कम्पन निकै तीव्र र डरलाग्दो भएको बताइन् । हामीलाई परकम्पका कारण घर भत्किएर आफूहरूमाथि खस्ने डर थियो,’ उनले क्षतिग्रस्त घरनजिकैको अस्थायी आश्रयबाट बताइन् । पहुँच कठिन भएका मङ्गराई, पूर्वी मङ्गराई र नागेकेओलगायत क्षेत्रमा उद्धार टोलीले आइतबार खोजी तथा उद्धार कार्य पुनः सुरु गरेका छन् ।

मौमेरेस्थित खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानका अनुसार अधिकांश पहिरो हटाएर केही पृथक गाउँमा सडक सम्पर्क पुनःस्थापित गरिएको छ । तर सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्य प्रभावित भएको छ ।

उनका अनुसार उद्धारकर्ताहरूले भत्किएका घर तथा अन्य संरचनाको भग्नावशेषमा सम्भावित पीडितको खोजी गरिरहेका छन् ।

भूकम्पको उच्च जोखिममा इन्डोनेसिया

सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । यस क्षेत्रमा सक्रिय ज्वालामुखी र फल्ट लाइनहरू रहेकाले इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको छ ।

सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब २ हजार ५०० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१८ मा ७.५ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो । उक्त विपद्मा ४ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापुनजिकै गएको ९।१ म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब २ लाख ३० हजार मानिसको ज्यान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?