© 2026
बर्दिया । बाँकेको जानकी गाउँपालिकाका विभिन्न सडक तथा बजार क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढ्दै गएको छ ।
सडकमा जथाभाबी छाडिएका गाई, गोरु तथा अन्य चौपायाका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै किसानको खेती बालीमा समेत क्षति पुग्न थालेको हो ।
गाउँपालिकाका मुख्य सडक, बजार क्षेत्र तथा बस्ती आसपासमा छाडा चौपायाहरू समूह बनाएर सडक तथा चोकमा बस्ने गरेका छन् । विशेष गरी बिहान र साँझको समयमा सडकमा चौपायाको सङ्ख्या बढ्दा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । सडकमा अचानक चौपाया आउँदा मोटरसाइकल, अटो, ट्याक्टर तथा अन्य सवारी दुर्घटनामा पर्ने जोखिमसमेत बढेको स्थानीयको सालिमा खाँले बताए ।
छाडा चौपायाको समस्या सडकमा मात्रै सीमित छैन । खेतबारीमा पसेर किसानले लगाएको धान, मकै, तरकारीलगायतका बाली नष्ट गर्ने गरेको किसानहरू जानकि गाउँपालिका वडा नं ३ का किसान सन्त कुमार बर्माले बताए । दिनभर मेहनत गरेर उत्पादन गरेको कृषि उपज चौपायाले नष्ट गर्दा आफूहरू आर्थिक मारमा परेको उनीहरूको गुनासो छ ।
सोही गाउँपालिका वडा नंं ६ का स्थानीय हरि यादवका अनुसार चौपाया धनीहरूले आफ्ना पशुहरू व्यवस्थित रूपमा पाल्नुको सट्टा सडक तथा सार्वजनिक स्थानमा छाडिदिने गरेका छन् । जसका कारण केही समययता समस्या झन् बढ्दै गएको बताए ।
छाडा चौपाया व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको समेत भए पनि जानकी गाउँपालिकाले प्रभावकारी कदम चाल्न नसकेको मोटरसाइकल यात्री विक्रम अधिकारीले भने, “म यही बाटो आफ्नो कार्यालय हरेक दिन जाने गरेको हुन्छु । चौपाया नियन्त्रणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधानतर्फ पालिकाले चासो दिएको छैन ।”
स्थानीयले सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तत्काल छाडा चौपाया नियन्त्रण गर्नुपर्ने, पशु धनीलाई जिम्मेवार बनाउनुपर्ने तथा आवश्यक परे व्यवस्थित गौशाला वा पशु व्यवस्थापन केन्द्र सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
छाडा चौपायाका कारण जनधनको क्षति भएपछि मात्रै सक्रिय हुने कि समस्या बढ्नुअघि नै समाधान खोज्ने भन्ने प्रश्न अहिले जानकी गाउँपालिकामाथि उठेको छ । स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय हुँदाहुँदै पनि समस्या दिनप्रतिदिन बढ्दै जाँदा पालिका बेखबर जस्तो देखिएको स्थानीयको आरोप छ ।
सम्बन्धित निकायले तत्काल अनुगमन गरी छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनको ठोस योजना अघि नबढाए सडक दुर्घटना र किसानको बालीनालीमा हुने क्षति अझ बढ्न सक्ने देखिन्छ ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँका अनुसार पालिकाले चौँपायलाई नियन्त्रण गर्न धेरै प्रयास गरेको हो र बेला बेला कान्जी हाउसमा समेत राख्दै आएको छ । तर पालिकाका आम बासिन्दाहरूलाई आफ्नो चौँपायहरूलाई नियन्त्रण गर्नुको सट्टा बाटोमा छाडा छोड्ने गरेकोले नेपालगन्ज गुलरिया सडकमा चौँपायहरूको सङ्ख्या बढ्दै गएको पालिका अध्यक्ष खाँले बताए ।
पालिकाले नियम बनाएको छ केही दिनमै लागु हुने गरी बाटोमा छडा रहेका चौँपायहरूलाई सिधै्र कान्जी हाउसमा राख्ने र चौँपाय धनिले लिन आए जरिवाना लिएर मात्र दिने निर्ण भएको अध्यक्षले बताए ।
पालिकाले जजि प्रयास गरेपनि बाटो किनारका बासीहरूले रातीमा आफ्नो चौँपायहरूलाई खुल्ला छोड्ने भएको कारणले छडा चौँपायको सङ्ख्या बढ्दै गएको पाइएको छ । चौपाय नियन्त्रण गर्नका लागि स्थानीयबासीहरूले यसबारे सचेत हुन जरुरी देखिन्छ ।