Butwal Today

भैरहवा भन्सार कार्यालयलको राजस्व १०.३३ प्रतिशतले वृद्धि

३० श्रावण २०८३, शनिबार
अ+
अ-

सिद्धार्थनगर । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा पछिल्ला पाँच वर्षकै उत्कृष्ट ९२.४० प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले ११३ अर्ब ६७ करोड रुपैयाँ राजस्व लक्ष्य पाएकोमा १०५ अर्ब रुपैयाँ संकलन गरेको हो । यद्यपि लक्ष्यभन्दा करिब ८ अर्ब ६७ करोड रुपैयाँ कम राजस्व उठे पनि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन १०.३३ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाका अनुसार लक्ष्य हासिल गर्न व्यापार सहजीकरण, राजस्व चुहावट नियन्त्रण तथा नियमित समन्वय बैठकमार्फत विभिन्न प्रयास गरिए पनि केही वस्तुको आयातमा आएको कमीका कारण लक्ष्य शतप्रतिशत पूरा हुन सकेन । पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० भैरहवा भन्सारका लागि सबैभन्दा कमजोर वर्ष बनेको देखिन्छ । उक्त वर्ष १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व लक्ष्य रहे पनि ७६ अर्ब ८९ करोड रुपैयाँ अर्थात् लक्ष्यको ४९.४२ प्रतिशत मात्र संकलन भएको थियो । त्यसपछि भने कार्यालयको राजस्व संकलनमा निरन्तर सुधार देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २७ अर्ब रुपैयाँ लक्ष्यमध्ये १ खर्ब १२ अर्ब ५५ करोड रुपैयाँ (९०.९४ प्रतिशत) राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब लक्ष्यविरुद्ध ८० अर्ब ८४ करोड रुपैयाँ (६३.२४ प्रतिशत) मात्र संकलन भएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ९ अर्ब रुपैयाँ लक्ष्यमध्ये ९५ अर्ब १९ करोड रुपैयाँ (८७.०६ प्रतिशत) राजस्व उठेको थियो। त्यसको निरन्तरता स्वरूप आर्थिक वर्ष २०८२/८३ मा लक्ष्य प्राप्तिको प्रतिशत बढेर ९२.४० पुगेको छ, जुन पाँच वर्षकै उच्च उपलब्धि हो ।

सूचना अधिकारी ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व योगदान मोटरसाइकल तथा अन्य सवारी साधनबाट प्राप्त भएको छ । त्यसपछि पेट्रोलियम पदार्थ, ग्यास, फलाम, सुपारी, मोबाइल फोन तथा कोइलाले राजस्व संकलनमा उल्लेखनीय योगदान गरेका छन् । तर केही प्रमुख वस्तुको आयात घटेकाले राजस्व लक्ष्य पूरा गर्न कठिन भएको कार्यालयको विश्लेषण छ । विशेषगरी टायल, आलु, चामल र चकलेटको आयात अघिल्लो वर्षको तुलनामा घट्दा त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको ढुङ्गानाले बताए ।

यता, निर्याततर्फ भने कार्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा निकासी करिब ६६ प्रतिशतले बढेको छ । भैरहवा नाकाबाट सबैभन्दा बढी भटमासको तेल निर्यात भएको छ । त्यसपछि तामाको तार, एल्युमिनियम तार, सिन्थेटिक यार्न, प्लाइउड र सिमेन्ट प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेका छन् । पाँच वर्षको आयात मूल्य विश्लेषणले पनि व्यापारिक गतिविधि विस्तार भएको संकेत गरेको छ । यस अवधिमा पैठारी मूल्य २ खर्ब ४२ अर्ब ६३ करोडदेखि ३ खर्ब ४ अर्ब ५ करोड रुपैयाँबीच रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ पुगेर पाँच वर्षकै उच्च स्तर कायम गरेको छ ।

समग्रमा पछिल्ला पाँच वर्षको अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७९/८० पछि भैरहवा भन्सारको राजस्व संकलनमा निरन्तर सुधार देखिएको छ । लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसके पनि लक्ष्य प्राप्तिको प्रतिशत, राजस्व वृद्धिदर, आयात मूल्य तथा निर्यात विस्तारका आधारमा आर्थिक वर्ष २०८२/८३ भैरहवा भन्सारका लागि पुनरुत्थान र सुधारको वर्षका रूपमा स्थापित भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?