© २०२३
दाङ, १६ माघ ।
प्रगतिशील लेखक संघ दाङ शाखाको बार्षिक मुखपत्र बहिङ्गा विमोचन गरिएको छ । सोमबार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी साहित्यिक पत्रिका बहिङ्गा विमोचन गरिएको हो ।
प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् वर्तमान सल्लाहकार पद्मप्रसाद शर्माले मुखपत्र विमोचन गर्दै साहित्यकारले कलमको माध्यमबाट खबरदारी गरिरहेको बताए । आँखाले देखेका र भोगेका कुरालाई साहित्यको माध्यमबाट सरकारलाई सन्देश पठाउने गरेको बताए । साहित्यकारले विभिन्न माध्यमबाट सामाजिक, साहित्यिक रुपान्तरणका लागि सहयोगी भूमिका खेलेको बताए । उनले समाजमा साहित्यिक चेतनाको स्तर बढ्दै गएको र जनता सचेत भएको बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले साहित्यले समाजको आवाजको प्रतिनिधित्व गर्ने भएकाले साहित्यकार एकजुट हुनुपर्ने बताए । प्रलेस दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापाले विमोचित मुखपत्रको समीक्षा गरेका थिए । उनले बहिङ्गामा प्रकाशन भएका लेख, रचना समयको आवाज भएको बताए । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।