© 2026
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धम्की र दबाबका कारण निर्वाचन आयोगले आफूहरूलाई हराएको आरोप लगाएका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले पुराना नजिर र प्रक्रियालाई मिचेर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको दाबी गरे।
उनले विशेष महाधिवेशनबाट गठन भएको थापा नेतृत्वको समितिलाई आयोगले दिएको मान्यता अवैधानिक भएको जिकिर गरे। ‘धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो,’ खड्काले भने। आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्दै उनले यसअघिको फैसला त्रुटीपूर्ण रहेकाले पुनरावलोकनका लागि अनुमति दिइएको बताए।
खड्काले आफूहरू अझै पार्टी एकताको प्रयासमा रहेको दाबी गरे। विशेष महाधिवेशनको माग उठेदेखि नै गगन थापा र विश्वप्रकाश शर्मासँग पटकपटक सहमति भए पनि कार्यान्वयन नभएको उनको आरोप छ। उनका अनुसार पहिलोपटक विशेष महाधिवेशन नगर्ने सहमतिमा १५औँ महाधिवेशनको कार्यतालिका ल्याइएको थियो। आमनिर्वाचन फागुनमा भए वैशाखमा र निर्वाचन सरे फागुनमै महाधिवेशन गर्ने सहमति थापा र शर्मासँग भएको उनले बताए। तर, उक्त सहमतिविपरीत विशेष महाधिवेशन गरिएको उनको भनाइ छ।
खड्काले गत वैशाखमा पनि थापा आफैँ सहमतिका लागि आएको र पछिल्लो तीन महिनाको वार्तामा विशेष महाधिवेशनबाट आएको समिति तथा शेरबहादुर देउवा नेतृत्वको समितिलाई समेटेर अघि बढ्ने सहमति भएको दाबी गरे। तर, उक्त सहमति पनि अहिले तोडिएको उनको आरोप छ। थापा पक्षले पार्टी एकता नचाहेको आरोप लगाउँदै खड्काले विशेष महाधिवेशनबाट आएको समितिको विषय सम्बोधन नगरेसम्म कांग्रेसको विवाद समाधान नहुने बताए। ‘विशेष महाधिवेशनको समिति नमिलाउँदासम्म विवाद यथावत रहन्छ। तीन महिना गयो, सानेपामा नाटक मञ्चन भइरहेको छ,’ उनले भने।