Butwal Today

बाजुरा बाढी पहिरोको उच्च जोखिममा

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ ।

भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ ।

बडीमालिकामा १३ गाउँ, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा २०, गौमुलमा ३५, खप्तड छेडेदहमा १०, जगन्नाथमा चार, स्वामिकार्तिक खापरमा १० र हिमालीमा चार वटा गाउँ पहिरोको चपेटामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिए ।

जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरू तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने जनाएको छ ।

उक्त बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा वर्षाको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ । बुढीगङ्गा नदीले बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौँ परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको स्थानीय दीपक बडुवालले जानकारी दिए ।

जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगङ्गा नदीले  खेतीयोग्य जमिन बगरमा परिणत गराएको बताए ।

विपद् प्रतिकार्य योजना २०८३ को तथ्याङ्कअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ, भने झन्डै एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढी पहिरो, भूकम्प, आगलागीजस्ता विपद्हरूले जुनसुकै बेला पनि ठुलो धनजनको क्षति पु¥याउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?