Butwal Today

भेरी नदीमा बेपत्ता जिप र २ जनाको खोजी दोस्रो दिन पनि जारी

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका, १ अम्रास्थित छिन्चु–जाजरकोट सडक खण्डबाट भेरी नदीमा खसेर बेपत्ता भएको बोलेरो जिप र त्यसमा सवार दुई जनाको खोजी कार्य आज बिहानैदेखि पुनः सुरु गरिएको छ ।

बुधबार दिउँसो करिब २ बजे बालुवासंग्राहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट तल भेरी नदीमा खसेको थियो ।

जीपमा सवार चार जनामध्ये दुई जना पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए भने बाँकी दुई जना नदीको बहावसँगै बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा गाडी धनी खल बहादुर रानाका छोरा सिद्धकुमाख गाउँपालिका, ४ सल्यानका २३ वर्षीय भीमबहादुर राना र कुमाख गाउँपालिका, ५ का ४३ वर्षीय चालक हेमराज बुढाथोकी रहेका छन् । दुर्घटनामा परेर घाइते भएका वनगाड कुपिण्डे नगरपालिका, १ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी भने उपचारपछि बुधबार नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

दुर्घटना लगत्तै उद्धार प्रयास सुरु गरिए पनि भेरी नदीको तीव्र बहाव, अत्यधिक गहिराइ तथा साँझपख अँध्यारो भएकाले बुधबार साँझ खोजी कार्य स्थगित गरिएको थियो । आज बिहान उज्यालो भएसँगै डुंगा र विशेष गोताखोर टोली परिचालन गरी नदीभित्र तथा आसपासका तटीय क्षेत्रमा खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?