© 2026
सल्यान । भेरी नदीमा बोलेरो जिप खस्दा बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा जिपका चालकसहित दुई जना नदीमा बेपत्ता भएका हुन् । अन्य दुई जना घाइतेको उपचार हुँदै छ ।
बुधबार दिउँसो करिब २ बजेतिर वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बालुवासंग्राहीबाट सल्लीबजारतर्फ आउँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार नदीमा बेपत्ता हुनेमा जिप चालक दाङ निवासी करिब २३ वर्षीय हेमराज बि।सी। र जिपमा सवार सल्यानको सिद्धकुमाख गाउँपालिका–४ का करिब ४३ वर्षीय भिम बहादुर राना रहेका छन् । घाइते यात्रुले दिएको विवरणका आधारमा उनीहरूको पहिचान खुलेको हो ।
तर यो समाचार तयार पार्दासम्म बेपत्ता दुवै जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनीहरूसँगै दुर्घटनामा परेको जिपको समेत खोजी भइरहेको छ । सशस्त्रको गोताखोर टोलीबाट खोजीको तयारी थालिएको छ ।
दुर्घटनामा घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीको सल्ली सिटी अस्पताल, सल्लीबजारमा उपचार भइरहेको छ ।
विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता दुई जनाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमान्डमा नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमान्डमा सशस्त्र प्रहरीका ११ जना घटनास्थलमा खटिएका छन् ।
इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगार, इलाका प्रहरी कार्यालय रागेचौर तथा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले भेरी नदीमा खोजी गरिरहेको छ ।