© 2026
सल्यान ।
पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका, १ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
बुधबार दिउँसो करिब २ बजेतिर बालुवासंग्राहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा चालकसहित चार जना सवार थिए ।
दुर्घटनामा घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आपखोली निवासी २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीलाई उपचारका लागि सल्ली सिटी अस्पताल, सल्लीबजार लगिएको छ । विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको छ।
जीपसहित नदीमा खसेका दुई जना भने बेपत्ता भएका छन् । उनीहरूको पहिचानसमेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगार, इलाका प्रहरी कार्यालय रागेचौर तथा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमाण्डमा ३० जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सल्यानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमाण्डमा ११ जनाको टोली पनि घटनास्थलमा खटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेरी नदीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने गरी समन्वय भइरहेको प्रहरीले जनाएको छ ।