Butwal Today

मूल बीउका लागि कोदो खेती

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

वालिङ (स्याङ्जा) । स्थानीय जातको कोदोको बीउ संरक्षण गर्न स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदो खेती सुरु गरिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले पहिलो पटक ३० रोपनी जमिनमा कोदो खेती सुरु गरेको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिए ।

स्थानीय बाली संरक्षण प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो खेती सुरु गरिएको हो । “पछिल्लो समय कोदोको माग बढ्दो क्रममा छ,” उनले भने, “कृषकको मागलाई मध्यनजर गर्दै नेपाल सरकारले सिफारिस गरेको ‘काभ्रे २’ जातको कोदोको मूल बीउ उत्पादन गर्ने गरी अहिले कोदो रोप्ने काम भइरहेको छ ।”

बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आइरहेको कार्यालयले विशेष गरी कृषि प्राविधिक, कर्मचारी, बीउ उत्पादक समूह, सहकारी तथा व्यावसायिक कृषकलाई बीउ उत्पादन गर्दा आइपर्ने समस्या, रोग, कीरा, मलखाद, प्रशोधन तथा बजारीकरणसम्बन्धी विषयमा प्रयोगात्मक ज्ञानसमेत दिने गरी काम अघि बढाएको उनले बताए ।

“जग्गा व्यवस्थापन, बीउको छनोटदेखि लिएर बजारीकरणसम्मका सम्पूर्ण प्रक्रिया कार्यालयमार्फत हुन्छ,” उनले भने, “बीउ उत्पादक कृषक, समूह तथा सहकारीले यस कार्यालयले गरेका गतिविधि हेरेर, बुझेर आफूले आफ्नो व्यवसायलाई अझ व्यवस्थित गर्दै लैजान सहज हुने विश्वास लिएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?