© 2026
बुटवल । रोटरी क्लब अफ बुटवल–चौतारीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत सङ्कलन भएको छ ।
रोटरी क्लब अफ बुटवल चौतारी, रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी र रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता जनाइएको थियो ।
रोटरी क्लब अफ बुटवल चौतारीको ‘समाजसँग रोटरी’ को भावना अनुरूप क्लबको ३०१औँ नियमित बैठकसँगै बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष वासुदेव भुसालले बताए ।
रगत अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका असहाय तथा आवश्यकतामा रहेका बिरामीलाई राहत पु¥याउने उद्देश्यले १०० पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि ७६ पिन्ट रगत सङ्कलन गर्न सफल भएको उनले जानकारी दिए ।
अध्यक्ष भुसालले रक्तदानलाई केवल सामाजिक सेवा नभई जीवन बचाउने मानवीय अभियानका रूपमा अघि बढाउन क्लब प्रतिबद्ध रहेको बताए । कार्यक्रमको संयोजन रो। रामप्रसाद न्यौपानेले गरेका थिए भने रामनाथ पाण्डे र खगेन्द्र बेल्बासे सह–संयोजक रहेका थिए ।
क्लबका सचिव माधव पौडेलले रक्तदान गरी मानवीय सेवामा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै रक्तदान अभियानलाई निरन्तरता दिने बताए । उनका अनुसार क्लबले छिट्टै दोस्रो चरणको रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
आयोजकहरूले नियमित रक्तदानमार्फत रगतको अभाव कम गर्न तथा आपत्कालीन अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन सबैलाई रक्तदान अभियानमा जोडिन आग्रह गरेका छन् ।