Butwal Today

चोरी भएका वडा र स्कुलका सामानसहित ३ किशोर पक्राउ

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

सल्यान । 

सरकारी कार्यालय र शैक्षिक संस्थाबाट लाखौँ मूल्यका विद्युतीय सामग्री चोरी गरेको आरोपमा सल्यानमा तीन जना किशोर पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका, ४ स्थित वडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट लाखौँ मूल्य बराबरका प्रशासनिक तथा शैक्षिक सामग्री चोरी गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा त्रिवेणी गाउँपालिका वडा नं, ४ फलाबाङका एक १८ वर्षीय युवा र दुई जना १५ वर्षीय बालक रहेका छन् । वडा कार्यालय र विद्यालयमा एकसाथ चोरी भएपछि इलाका प्रहरी कार्यालयको टोली, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा खोजतलास गरिएको थियो । सोमबार गाउँका विभिन्न स्थानहरूमा गरिएको खोजीको क्रममा चोरी भएका सामानहरू बरामद हुनुका साथै अभियुक्तहरू पक्राउ परेका हुन् ।

खोजीका क्रममा चोरिएका सामग्रीहरू झाडी तथा विभिन्न व्यक्तिको घरमा लुकाई छिपाइ राखिएको अवस्थामा फेला परेका थिए । बरामद गरिएका सामग्रीहरूमा नेरा माविका २ थान ल्यापटप, ७ थान कम्प्युटर, १ सेट ई हाजिरी मेसिन, १ सेट सिसिटिभी क्यामेरा तथा विज्ञान प्रयोगशालाका विभिन्न उपकरणहरू रहेका छन् ।

वडा अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका प्रवक्ता छविराज शर्माका अनुसार विद्यालय र प्रशासनिक काममा प्रयोग हुने संवेदनशील प्रविधि र उपकरणहरू विभिन्न ठाउँमा लुकाइएको अवस्थामा भेटिएका थिए । चोरी गरिएका केही विद्युतीय उपकरण तथा सामग्रीहरू श्रीनगरस्थित एक व्यापारीको पसलमा बिक्री गरिसकिएको पनि खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?