Butwal Today

माटो बचाउन स्थानीय तह सक्रिय

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

लमही । भू–संरक्षण दिवसको अवसरमा दाङको गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा बाँस रोपण गरिएको छ ।

बुढी खोला भूमि अधिकार कृषक समूहको आयोजनामा भएको कार्यक्रममा भू–क्षय नियन्त्रण, पहिरो रोकथाम, वातावरण संरक्षण तथा स्थानीय स्तरमा बाँस खेतीको प्रवर्द्धनका लागि सो बिरुवा रोपिएको हो ।

वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको सहभागिता पहिरो तथा भू–क्षयको जोखिम रहेका क्षेत्रमा बाँसका बिरुवा रोपिएको थियो । वडाध्यक्ष बाबुराम अधिकारीले मानिसको जीवन माटोसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै भू संरक्षणलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । किसानको जीवन र जीविकोपार्जन जमिनमै निर्भर रहेको उल्लेख गर्दै उनले जन्मदेखि मृत्युसम्म मानिसको सम्बन्ध माटोसँगै रहने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए ।

“जमिनमा आश्रित किसानले आफ्नो जमिनका लागि सङ्घर्ष गर्दै आएका छन्। मानिसको जीवनको सुरुवातदेखि अन्त्यसम्म माटोसँग सम्बन्ध हुन्छ । त्यसैले माटो जोगाउन सकिएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन,” वडाध्यक्ष अधिकारीले भने ।

पहिरोको जोखिम भएका क्षेत्रमा बाँसले जमिनलाई समातेर माटो बग्ने तथा पहिरो जाने सम्भावना कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले त्यस्ता क्षेत्रमा बाँसलाई प्राथमिकता दिइएको उनले बताए ।

बहु उपयोगी वनस्पति भएकाले यसको संरक्षण तथा प्रवर्द्धनबाट वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सकिन्छ । “पहिरो जाने तथा भू–क्षयको जोखिम भएका स्थानमा बाँस रोप्दा त्यसले माटो समातेर जमिन संरक्षणमा सहयोग गर्छ । बाँसको बहु उपयोगितालाई हेरेर पनि यसको विस्तारमा प्राथमिकता दिन आवश्यक छ”, उनले भने ।

उनले भू संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नलिई स्थानीय समुदाय, किसान समूह तथा सरोकारवाला सबैको सहभागितामा अघि बढाउनुपर्ने बताए ।

भूमिहीन तथा बटैया किसानहरूको सुरक्षा सञ्जाल तथा हरित ग्रामीण नेपालको लागि भू सम्बन्ध समाधान सार्वजनिक जग्गा पुनः हरित करण कार्यक्रम अन्तर्गत बुढी खोला मलमला भूमि अधिकार कृषक समूह गढवा गाउँपालिका वडा नम्बर १ ले २०८२ साल मङ्सिर २९ गते सम्झौता गरेको थियो ।

४ बिघा क्षेत्रफलमा किसानहरूले विभिन्न किसिमका तरकारी बाली उत्पादनमा जुटिरहेको समूहका सचिव गीता कुमालले बताइन् । २९ घरधुरी लाभग्राही रहेको कार्यक्रममा सार्वजनिक जग्गाको पुनहरितीकरण कार्यक्रम अन्तर्गत जग्गा बाँजो नराखेर खेतीपाती गर्नका लागि किसानहरूलाई एकीकृत गरेर कार्यक्रम अगाडि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?