© 2026
रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–फुलिबाङ नजिक बाच्छे खोलाले बगाउँदा सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको मृत्यु भएको छ,भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले दिएको जानकारीअनुसार सुनछहरी गाउँपालिका–घुसबाङ निवासी अन्दाजी ७४ वर्षीय मसान घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा करिब ७३ वर्षीय जौखे घर्ती मगर गम्भीर घाइते भएका छन्। उनको फुलिबाङ स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर परेको वर्षापछि बाच्छे खोलामा एक्कासी ठूलो बाढी आएको थियो। खोला आसपासको बाटो चिप्लो हुनु र वृद्ध अवस्थाका कारण उनीहरू खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयवासीले तत्काल उद्धार अभियान सञ्चालन गरी एक जनालाई जीवितै उद्धार गरेका थिए भने अर्का एक जनालाई मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।