© 2026
बुटवल। लुम्बिनीमा पहिलोपटक राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन साउन २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ। लुम्बिनी सिटी कलेजका विद्यार्थीहरूको आयोजनामा हुने प्रतियोगिताले युवाको नवप्रवर्तन, अनुसन्धान र प्रविधिमार्फत समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्य राखेको छ।
देशभरबाट प्राप्त १ सय १८ टोलीको आवेदन मध्ये उत्कृष्ट १० टोली छनोट गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य विषय भने कार्यक्रम सुरु हुनुभन्दा एक दिनअघि मात्र सार्वजनिक गरिनेछ, जसले सबै टोलीलाई समान अवसर दिने विश्वास गरिएको छ।साउन २३ र २४ गते लुम्बिनी सिटी कलेजमा कोडिङ, अनुसन्धान, डिजाइन तथा परियोजना विकास हुनेछ भने साउन २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अन्तिम प्रस्तुति, मूल्याङ्कन, पुरस्कार वितरण र समापन कार्यक्रम आयोजना गरिनेछ।
सहभागीलाई तीन दिनको आवास, भोजन र लुम्बिनी भ्रमणको व्यवस्था पनि गरिनेछ।पुरस्कारतर्फ प्रथम टोलीले रु.६० हजार, द्वितीयले र.४० हजार, तृतीयले रु. २५ हजार तथा ‘लुम्बिनीएक्स विशेष पुरस्कार’ अन्तर्गत रु. १५ हजार प्राप्त गर्नेछन्। कुल पुरस्कार राशि रु. २ लाख रहेको छ।
यससँगै उत्कृष्ट टोलीका सदस्यलाई एआई(आधारित विभिन्न सशुल्क सफ्टवेयर, क्लाउड होस्टिङ, डिजाइन सेवा तथा प्रविधिसम्बन्धी अन्य सुविधा उपलब्ध गराइनेछ। साथै, योग्य चार सहभागीलाई बेलायतस्थित एनसीसी एजुकेशन मार्फत कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षासम्बन्धी अध्ययनको अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ।