© 2026
लमही ।
गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम यादव अहिर विरुद्ध नदिजन्य पदार्थको उत्खननबाट उठ्नुपर्ने राजस्व चुहावट गराएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिका–१ अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री–वितरणका क्रममा गाउँपालिकाले प्राप्त गर्नुपर्ने राजस्वमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका आधारमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
आरोपपत्रअनुसार तत्कालीन पूर्वअध्यक्ष अहिरले प्रचलित कानुनविपरीत दोस्रो किस्ताबापत तिर्नुपर्ने रकम मिनाहा गर्ने निर्णय गराई राजस्व छुट दिएको र त्यसमार्फत भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाइएको छ ।
यस प्रकरणमा पूर्वअध्यक्ष अहिरसहित ५ जना व्यक्ति तथा सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, बुटवल रूपन्देहीलाई प्रतिवादी बनाइएको छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम १ करोड ४१ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण तथा राजस्व संकलनसम्बन्धी कानुनी दायित्व पालना नगर्दा राज्यलाई आर्थिक क्षति पुगेको देखिएको छ । नदिजन्य पदार्थ व्यवस्थापनमा भएको अनियमितताका कारण राजस्वमा हानि पुगेपछि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो ।
मुद्दा विशेष अदालतमा दर्ता भइसकेकाले अब कानुनी प्रक्रिया अनुसार आरोप–प्रत्यारोपको परीक्षण हुनेछ । अदालतबाट अन्तिम फैसला नआएसम्म आरोपितहरूलाई कानुनतः दोषी ठहर गर्न नमिल्ने व्यवस्था रहेको छ ।