Butwal Today

बुटवल चौराहा-गोलपार्क सडक १० वर्षसम्म पूरा भएन, फेरि थपियो असोजसम्मको म्याद

११ श्रावण २०८३, सोमबार
अ+
अ-

बुटवल। १० वर्षसम्म पूरा नभएको बुटवलको राजमार्ग चौराहा-गोलपार्क सडक निर्माण कार्य तोकिएको समयमा नसकिए पछि तेस्रो पटक म्याद थप भएको छ ।

राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार निर्माण कम्पनीको चरम लापरवाहीका कारण हालसम्म सम्पन्न नभएपछि फेरि अन्तिमपटक भन्दै असोज २० गतेसम्म म्याद थप गरिएको हो।

सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी प्रज्ञा शर्माका अनुसार २०८३ असोज २० गतेसम्म म्याद थप गरिएको छ। बावुल दर्शन मालिका जेभीका सञ्चालक तौफिक अहमद खानले सडक निर्माणको काम अब तोकिएको समयसीमा भित्रै नै सकिने बताए।

रुपन्देही ५ बाट निर्वाचित रास्वपाका सांसद रहेका खानले असोज २० भित्रमा जुनसुकै हालतमा भएपनि काम पुरा गर्ने बताए।

बुटवलको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्रभित्र पर्ने यो सडक निर्माणको काम ढिलो हुँदा सर्वसाधारण, व्यवसायी र यातायात क्षेत्रले लामो समयदेखि सास्ती खेपिरहेका छन्।

बुटवल चौराहादेखि गोलपार्क सडक खण्ड कालोपत्रे गर्ने निर्माण कार्यमा ढिलाइ भएपछि सडक डिभिजन बुटवलले गत असार ४ गते सूचना प्रकाशन गरी निर्माण व्यवसायीलाई अन्तिम चेतावनी दिएको थियो।

सडक विस्तार आयोजनाले निर्माण कम्पनी बाबुल-दर्शन मालिका जेभी, भैरहवालाई पटक-पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि कार्य प्रगति सन्तोषजनक नभएको निचोड निकालेको थियो।

सडक डिभिजनका अनुसार निर्माण व्यवसायीले पेश गरेको कार्यतालिका अनुसार काम अगाडि नबढाएको, साइटमा पर्याप्त जनशक्ति तथा उपकरण परिचालन नगरेको र निर्माण सम्पन्न गर्न आवश्यक तत्परता नदेखाएको पाइएको छ।

व्यवसायीको लापरबाहीका कारण आयोजनाले निर्माण कम्पनीलाई पर्याप्त स्रोत–साधनसहित तत्काल निर्माणस्थलमा परिचालन भई कामलाई तीव्रता दिन अन्तिम ताकेता गरेको थियो।

कार्यालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आधिकारिक प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण र स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो। स्पष्टीकरण तथा कार्ययोजनामा सो कम्पनीले थप भएको समयमा विद्युत र खानेपानीको पाइप सार्न तथा अन्य सहजीकरणमा कठिनाइ भएकाले असोजसम्मको समय माग गरेको थियो।

आयोजनाले तोकिएको अवधिभित्र निर्माण कम्पनी साइटमा परिचालन नभए, पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभए वा प्रस्तुत कार्ययोजना विश्वसनीय नदेखिए प्रचलित कानुन तथा ठेक्का सम्झौताअनुसार ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको थियो।

तर, सूचनापश्चात् सरकारले अलपत्र परेका ठेक्काको म्याद थप गर्ने निर्णय गरेसँगै यो सडकको म्याद असोजसम्म थप गर्ने गरी सिफारिश गरेको सडक डिभिजन बुटवलका सिनियर डिभिजनल इन्जिनियर नवराज बास्तोला बताउँछन्।

उनका अनुसार सडकको निर्माण प्रगति ७० प्रतिशत जति भएको छ र बाँकी काम असोजसम्ममा पूरा हुने देखिएकाले म्याद थप गर्न सिफारिश गरिएको हो। उनले सडक बत्ती, सर्भिस लेन, सडकको ओभर ले गर्ने, केही स्थानमा रेलिङ लगाउने काम बाँकी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?