© 2026
लिवाङ (रोल्पा) । ५० शै्याको सुविधा सम्पन्न रोल्पा अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव चुलिँदा स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित बनेको छ ।
अस्पतालमा सिजेरियन शल्यक्रिया सहित अधिकांश विशेषज्ञ सेवा बन्द भएपछि जिल्लाका बिरामी सामान्य उपचारका लागि समेत दाङ, नेपालगन्ज, बुटवल र काठमाडौँ धाउन बाध्य भएका छन् ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालमा स्वीकृत २२ चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि हाल चार जना मात्रै कार्यरत छन् । अस्पताल प्रमुख, जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट र मनोचिकित्सक लगायत १८ पद रिक्त रहेको अस्पतालले जनाएको छ ।
जनशक्ति अभावका कारण अस्पतालमा विशेषज्ञ सेवा लगभग ठप्प भएको छ । सामान्य शल्यक्रिया समेत गर्न नसक्ने अवस्था सिर्जना हुँदा अधिकांश बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल स्रोतले जनाएको छ ।
सबैभन्दा बढी असर सुरक्षित मातृत्व सेवामा परेको छ । साउन १ गतेदेखि सिजेरियन (सीएस) लगायतका शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएपछि जटिल अवस्थाका गर्भवती महिलालाई उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने अवस्था आएको छ । आर्थिक रूपमा विपन्न परिवारका लागि यो उपचारसँगै थप आर्थिक भारसमेत बनेको छ ।
अस्पतालमा विगत पाँच वर्षदेखि सिजेरियन सेवा सञ्चालनमा सहयोग गर्दै आएको ‘निक साइमन इन्स्टिच्युट नेपाल’ परियोजनाको अवधि समाप्त भएपछि सेवा रोकिएको हो । परियोजनाले सेवा समाप्त हुनुअघि नै प्रदेश सरकारलाई चिकित्सक व्यवस्थापनका लागि जानकारी गराएको भए पनि समयमै वैकल्पिक व्यवस्था हुन नसकेको अस्पतालको भनाइ छ ।
पछिल्ला वर्षमा अस्पतालको भवन तथा पूर्वाधार विस्तारमा उल्लेख्य लगानी भए पनि आवश्यक जनशक्ति अभावका कारण ती संरचनाको प्रभावकारी उपयोग हुन सकेको छैन । विशेषज्ञ चिकित्सक नहुँदा अत्याधुनिक भवन र उपकरण अपेक्षित रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
अस्पतालमा उपकरण व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । पोस्टमार्टमका लागि प्रयोग हुने शव संरक्षण फ्रिज एक सातादेखि बिग्रिएको छ । केही दिनअघि एउटा शव चार दिनसम्म अस्पतालमै राख्नु परेको अस्पतालले जनाएको छ । थाइराइड परीक्षण गर्ने मेसिन लामो समयदेखि सञ्चालनमा छैन भने अक्सिजन प्लान्ट पनि एक वर्षभन्दा बढी समयदेखि बन्द छ । खानेपानी शुद्धीकरण गर्ने प्रणालीसमेत महिनौँदेखि मर्मत हुन सकेको छैन ।
रोल्पा अस्पताल विकास समितिले पटक–पटक संघ र प्रदेश सरकारसँग विशेषज्ञ चिकित्सक पठाउन आग्रह गरेको जनाएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्टले पनि आवश्यक जनशक्ति व्यवस्थापनका लागि निरन्तर पत्राचार गर्दै आएको अस्पताल स्रोतको भनाइ छ ।
प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले विशेषज्ञ चिकित्सक उपलब्ध भए पनि दुर्गम क्षेत्रमा जान इच्छुक चिकित्सकको अभाव रहेको स्वीकार गरे । दुर्गम जिल्लामा चिकित्सक टिकाउन आकर्षक सेवा–सुविधा र दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ छ ।
रोल्पाबाट निर्वाचित जनप्रतिनिधि, अस्पताल विकास समिति तथा स्थानीयवासीले तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्था गरी सिजेरियन सेवा पुनः सञ्चालन गर्न, एनेस्थेसिया सेवा नियमित बनाउन तथा बिग्रिएका उपकरण मर्मत गर्न सरकारसँग माग गरेका छन् ।
स्वास्थ्य सेवा संविधानले सुनिश्चित गरेको मौलिक हक भए पनि रोल्पा अस्पतालको वर्तमान अवस्थाले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।