Butwal Today

५५ लाख लागतको सार्वजनिक शौचालय र वाटर एटिएम सञ्चालन

१० श्रावण २०८३, आइतबार
अ+
अ-
सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकास्थित मुख्य नेपाल–भारत सीमावर्ती नाका बेलहियामा नवनिर्मित सार्वजनिक शौचालय तथा वाटर एटिएम को उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ कार्यालयको आयोजना र बेलहिया गाउँ समाजको समन्वयमा उक्त पूर्वाधारको निर्माण सम्पन्न भएको हो । खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश के.सी.ले आइतबार सिद्धार्थनगर नगरपालिकालाई उक्त आयोजनाको स्वामित्व औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेले नवनिर्मित पूर्वाधारको उद्घाटन गरेका हुन । उनले सिद्धार्थनगर नगरपालिकासँगको समन्वयमा करिब २२ करोड बराबरको बजेट ल्याइएको जानकारी दिँदै मन्त्री पाण्डेले क्षेत्रको समग्र विकास कुनै एक जनाको प्रयासले मात्र सम्भव नहुने भएकाले सामूहिक जिम्मेवारी र सहकार्यको खाँचो औँल्याए ।
मन्त्री पाण्डेले बेलहिया नाकालाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन स्थानीय समाजको ठूलो योगदान रहेको बताए । विदेशी पर्यटकहरूले समेत यस नाकालाई चिन्ने वातावरण बनेकोमा उनले खुसी व्यक्त गरे ।
विकासप्रतिको दृष्टिकोण व्यक्त गर्दै मन्त्री पाण्डेले भने, “मानिसहरू अस्पताल, घर वा बर्थिङ सेन्टर बनाउन ध्यान दिन्छन्, तर सार्वजनिक शौचालय वा शवदाह गृह निर्माणमा खासै चासो दिँदैनन् । तर एउटा सभ्य, सुसंस्कृत र मोर्डन सहरका लागि यस्ता पूर्वाधारहरू झनै आवश्यक हुन्छन्।”
पर्यटन र अतिथि सत्कारमा जोड दिँदै मन्त्री पाण्डेले नेपालमा बुद्ध जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी र मानसरोवरजस्ता हजारौँ धार्मिक तथा सांस्कृतिक स्थलहरू रहेकाले नेपालमा पर्यटकीय सम्भावना प्रचुर रहेको उल्लेख गरे । नाकाबाट प्रवेश गर्ने पर्यटकहरूलाई सम्मानजनक स्वागत–सत्कार गर्दा स्थानीय उद्योगी र व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ थियो ।
खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश के.सी.का अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुरु भएको यो आयोजना आव २०८२/८३ मा सम्पन्न भएको हो । कुल ६५ लाख ९ हजार ७७० रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ५५ लाख ९४ हजार ६१० रुपैयाँ खर्च भएको छ भने २ लाख १ हजार २० दशमलव ५६ रुपैयाँ बराबरको जनश्रमदान भएको छ ।
नवनिर्मित सार्वजनिक शौचालय अपाङ्गमैत्री तथा पूर्ण रूपमा प्रविधियुक्त रहेको छ । यस पूर्वाधारभित्र पुरुषका लागि ४ वटा शौचालय, ५ वटा युरिनल र महिलाका लागि ३ वटा शौचालय, १ वटा बाथरुम तथा विशेष रूपमा ’प्याड एटिएम’ को व्यवस्था गरिएको छ । साथै, ४ वटा वास बेसिन र २००० लिटर क्षमताका ३ वटा पानीका ट्याङ्की राखिएका छन्  ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रमुख प्रवेशद्वार बेलहियामा निर्माण गरिएको आधुनिक सार्वजनिक शौचालय र वाटर एटिएमले नगरको सेवा प्रवाहमा नयाँ आयाम थपेको बताए । उनले हस्तान्तरणपछि नगरपालिकाले यसको नियमित सञ्चालन, मर्मत–सम्भार र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयवासी, व्यवसायी र सरोकारवालाको समान जिम्मेवारी रहने उल्लेख गरे। सीमाक्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु नगरपालिकाको दायित्व भएको उनको भनाइ थियो ।
नाकामा निर्मित यस हाईटेक सार्वजनिक शौचालय र शुद्ध पिउने पानीका लागि स्थापित वाटर एटिएमले दैनिक रूपमा नाकाबाट ओहोरदोहोर गर्ने हजारौँ सर्वसाधारण, यात्रु तथा विदेशी पर्यटकहरूलाई सरसफाइ र खानेपानीमा ठूलो राहत पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?