© 2026
लिबाङ (रोल्पा) । रोल्पाको विकट ग्रामीण भेगमा अवस्थित रोल्पा नगरपालिका–९, ह्वामाका महिलाहरूको पहिचान र दैनिकी अचेल पूर्ण रूपमा बदलिएको छ ।
विगतमा जङ्गलमै कुहिएर जाने वा गाईबस्तुको घाँसका रूपमा मात्र सीमित रहने प्राकृतिक वनस्पति ‘दौडे’ अहिले यहाँका स्थानीयका लागि आम्दानीको मुख्य स्रोत बनेको छ ।
घडीमा बिहानको साढे चार बज्नासाथ डोको, झोला र खाजा बोकेर ह्वामाका महिलाहरू नजिकैका ओसिला तथा घना वनतर्फ लाग्छन् । चराचुरुङ्गीको आवाज र वनको चिसो वातावरणमा आपसमा लोकगीत गाउँदै दौडे सङ्कलन गर्नु उनीहरूको नियमित दिनचर्या बनेको छ ।
उच्च पहाडी तथा ओसिलो भौगोलिक बनोटका कारण ह्वामा क्षेत्र दौडे उत्पादनका लागि अत्यन्त उपयुक्त मानिन्छ । हाल ह्वामाका ठुलो सङ्ख्याका परिवारको मुख्य व्यवसाय नै वनबाट दौडे सङ्कलन गर्ने र बिक्री गर्ने रहेको छ ।
विगतमा दौडे सङ्कलन गरेपछि बिक्रीका लागि घण्टौँ पैदल हिँडेर बजारसम्म पुग्नुपर्ने बाध्यता थियो । बजार पु¥याउँदा पनि समयमा बिक्री नहुने, उचित मूल्य नपाइने र नबिकेर फाल्नुपर्ने समस्या थियो । तर, गाउँमै सङ्कलन केन्द्र स्थापना भएपछि त्यो झन्झट सधैँका लागि हटेको छ ।
सङ्कलन केन्द्र बनेपछि जीवन निकै सहज भएको अनुभव ह्वामाकी निर्मला पुन व्यक्त गर्छिन् । पहिले बजार लगेर पनि बिक्री नभएर फाल्नुपर्ने डर हुने गरेकामा अहिले गाउँमै बिक्री हुने भएकाले राम्रो आम्दानी भइरहेको उनले बताइन् । श्रीमान् वैदेशिक रोजगारीमा भए पनि अब आफू विदेशको कमाइमा मात्र निर्भर नरहेर आफ्नै गाउँमा मेहनत गरी सम्मानजनक आम्दानी गरिरहेकोमा उनी खुसी छिन् ।
त्यस्तै अर्की स्थानीय सन्जु पुनका अनुसार दौडे बिक्रीको आम्दानीले बालबालिकाको पढाइ र घर खर्च चलाउन ठुलो राहत मिलेको छ । महिलाहरू आर्थिक रूपमा सक्षम बनेपछि निर्णय क्षमता र सामाजिक सम्मानमा वृद्धि भएको अनुभव उनी सुनाउँछिन् ।
स्थानीयको यो प्राकृतिक उपजलाई बजारसम्म जोड्ने श्रेय रोल्पा नगरपालिका–१० का युवा उद्यमी पूर्णबहादुर घर्तीलाई जान्छ । जङ्गलमा खेर गइरहेको दौडेको व्यावसायिक सम्भावना देखेर उनले गाउँमै सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हुन् । गाउँबाट सङ्कलन गरिएको दौडे उनले काठमाडौँ, नेपालगन्ज, बुटवल र दाङ जस्ता प्रमुख सहरहरूका बजारसम्म पु¥याउँदै आएका छन् ।
घर्तीले केही वर्षअघि केही सय किलोबाट सुरु गरेको यो व्यवसाय अहिले वार्षिक हजारौँ किलोको हाराहारीमा पुगिसकेको छ । असारदेखि भदौको सिजनमा मात्रै ठुलो मात्रामा दौडे खरिद–बिक्री हुने गरेको छ ।
व्यवसाय विस्तारसँगै बजारको उतारचढाव, यातायात र ढुवानीका चुनौती सामना गरिरहेका घर्तीले कानुनी र सामाजिक अवरोध पनि झेल्नुपरेको थियो । तर, कसैले नटिपिए जङ्गलमै कुहिएर जाने वा घाँस बन्ने वनस्पतिलाई उपयोग गरी स्थानीयको आयआर्जन बढाउनु नै आफ्नो मुख्य ध्येय रहेको घर्ती बताउँछन् ।
उनले आफ्नो आम्दानीको केही हिस्सा स्थानीय विद्यालयलाई सहयोग गर्नुका साथै गाउँको सडक पहुँच विस्तारमा समेत योगदान पु¥याएका छन् ।
स्थानीय सरकार पनि यो अभियानप्रति सकारात्मक देखिएको छ । रोल्पा नगरपालिका–९ का वडा अध्यक्ष मिमबहादुर घर्ती मगरले युवाको यो व्यक्तिगत पहलले गाउँका महिलाहरूले प्रत्यक्ष रोजगारी पाएकोमा खुसी व्यक्त गरे । यस्ता वनजन्य उपजमा आधारित उद्यमलाई वडा र नगरपालिकाका तर्फबाट आवश्यक प्रोत्साहन तथा बजारीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
वैदेशिक रोजगारीतर्फ युवाको लहर चलिरहेका बेला ह्वामाको यो सफलताले स्थानीय स्रोत, श्रम र उद्यमशीलताको प्रयोगबाटै ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ ।