Butwal Today

अवैध चौपाया र सेतो अण्डा रोक्न सुरक्षा निकायको ध्यानाकर्षण

९ श्रावण २०८३, शनिबार
अ+
अ-

नवलपरासी  । नवलपरासीका सीमावर्ती नाकाबाट अवैध रूपमा पशु चौपाया तथा सेतो अण्डा भित्रिने क्रम रोक्न प्रभावकारी निगरानी र नियन्त्रण गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ ।

जिल्लामा क्वारेन्टाइनबिनाका अवैध पशु चौपाया, कुखुरा तथा सेतो अण्डा व्यापक रूपमा भित्रिने गरेको गुनासो बढेपछि नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले सीमामा खटिएका सुरक्षा निकायको ध्यानाकर्षण गराएका हुन् ।

प्रहरीको निगरानीका बीच पनि चोरीका बाटो प्रयोग गरी अवैध पशु चौपाया र प्रतिबन्धित सेतो अण्डा भित्रिने गरेको गुनासो आएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गणमा यस विषयमा छलफल गरी नियन्त्रणका उपायबारे पहल थालिएको हो ।

खुला सीमाका कारण स्थानीय किसान, व्यवसायी तथा उपभोक्ता सबै प्रभावित हुने भएकाले नवलपरासीको बेलासपुरस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गणमा पुगेर यस विषयमा विशेष ध्यान दिन आग्रह गरिएको सांसद खनालले बताए ।

सीमाको सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनमार्फत अवैध ओसारपसार नियन्त्रणमा सम्बन्धित निकायले थप सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए ।

प्रहरी एक्लैले मात्रै सबै कुरा नियन्त्रण गर्न सक्दैन । आम समुदायको सूचना र सहयोगले मात्रै प्रभावकारी नियन्त्रण सम्भव हुन्छ । तर त्यसो भन्दैमा सुरक्षा निकाय सधैँ उच्च सतर्क अवस्थामा रहनुपर्छ । अधिकतम प्रयास हुनुपर्छ भन्ने हाम्रो अपेक्षा हो,  सांसद खनालले भने ।

सुरक्षा निकायले अवैध कारोबार नियन्त्रणका लागि अधिकतम प्रयास भइरहेको दाबी गरे पनि खसी बोका, सेतो अण्डा तथा अन्य अवैध पशु चौपाया कतिपय अवस्थामा सुरक्षा निकायकै मिलेमतोमा भित्रिने गरेको आरोप पनि बेला–बेलामा लाग्ने गरेको छ ।

त्यसै गरी, नियन्त्रणमा लिइएका अवैध चौपाया समेत तस्करसँगको मिलेमतोमा पुनः उनीहरूकै पहुँचमा पुग्ने तथा भन्सारमा बुझाइसकेका सामान न्यून मूल्यमा तस्करहरूले नै खरिद गर्ने गरेको गुनासो विगतदेखि नै आउने गरेको छ ।

प्रहरीका अनुसार जनशक्ति तथा आवश्यक स्रोत–साधनको अभावका कारण अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न चुनौती रहेको छ । भारतसँग जोडिएको नवलपरासीका सीमावर्ती नाकाबाट केराउ, चिनी, लागु औषध लगायत विभिन्न सामग्रीको अवैध ओसारपसार हुने गरेको छ । तस्करहरूले सुरक्षाकर्मीको निगरानी छल्दै विभिन्न सामानको अवैध आयात तथा पैठारी गर्दै आएको स्थानीयहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?