Butwal Today

कतारमा संयुक्त रूपमा ‘रमाइलो तिज विशेष–२०२६’ आयोजना हुँदै

९ श्रावण २०८३, शनिबार
अ+
अ-

कतार (दोहा) । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गर्दै कतारमा ‘रमाइलो तिज विशेष तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ ।

नेपाली महिला समाज कतार र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए–एनसीसी) कतारको महिला विभागको समन्वय तथा कतारमा स्थापित विभिन्न नेपाली सङ्घ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

शुक्रबार दोहाको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो । कार्यक्रम सञ्चालनका लागि ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रम आगामी सेप्टेम्बर ४, २०२६ मा कतारको वकिरस्थित डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा आयोजना हुनेछ । नेपाली समुदायबिच तिज पर्वको मौलिकता, सांस्कृतिक पहिचान तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपाली महिला समाज कतारकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मेनुका भण्डारीले यस वर्षको तिज कार्यक्रम विगतका वर्षहरूको तुलनामा थप व्यवस्थित, मौलिक र सहभागितामूलक बनाइने बताइन् ।

उनका अनुसार महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुष सहभागीका लागि ३० कतारी रियाल प्रवेश शुल्क निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी हुन अनिवार्य रूपमा प्रवेश पास लिनुपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए–एनसीसी कतारका सांस्कृतिक विभाग संयोजक जनक थापा मगरले तिजको मौलिक संस्कृतिलाई केन्द्रमा राखेर एकल तथा सामूहिक नृत्य, तिज गीत तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति समावेश गरिने जानकारी दिए । उनले कार्यक्रममा नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको विशेष सांगीतिक प्रस्तुति रहने पनि बताए ।

कार्यक्रमका आर्थिक संयोजक तथा एनआरएनए–एनसीसी कतारका उपाध्यक्ष एवं श्रमिक विभाग संयोजक सन्तोष पौडेलले कार्यक्रमको अनुमानित बजेट करिब ४० हजार कतारी रियाल रहेको जानकारी दिए । उनका अनुसार अनावश्यक खर्चलाई सकेसम्म नियन्त्रण गर्दै कार्यक्रमबाट बचत हुने रकम पूर्ण पारदर्शिताका साथ दुवै संस्थाको कोषमा जम्मा गरिनेछ । उक्त रकम कतारमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान तथा उद्धार कार्यमा उपयोग गरिने उनले स्पष्ट पारे ।

कार्यक्रमको मुख्य प्रायोजक भिक्टोरिया गोल्ड एन्ड डायमन रहेको छ । एनआरएनए–एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले कार्यक्रममा नेपाली महिलाहरूका लागि कानुनी साक्षरता, मानसिक स्वास्थ्य तथा श्रम अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत समावेश गरिने जानकारी दिए । उनले कतारको स्थानीय कानुनको पूर्ण पालना गर्दै कार्यक्रमको सुरक्षा व्यवस्थापनमा आयोजक विशेष रूपमा सचेत रहने बताए ।

पत्रकार सम्मेलनमा आयोजकले कतारमा स्थापित विभिन्न नेपाली सङ्घ–संस्थालाई सह आयोजकका रूपमा सहभागी हुन आह्वान गरेको छ । सहआयोजक बन्न इच्छुक संस्थाले १०० कतारी रियाल शुल्क बुझाउनुपर्ने तथा प्रत्येक सहआयोजक संस्थालाई एक प्रवेश पास उपलब्ध गराइने जानकारी दिइएको छ ।

सम्मेलनमा उठेका प्रश्नहरूको जवाफ दिँदै नेपाली महिला समाज कतारकी अध्यक्ष सुष्मा खतिवडा कटुवालले नेपाली समुदायको साझा सहभागितामा आयोजना हुने यस वर्षको ‘रमाइलो तिज विशेष तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६’ ले प्रवासमा रहेका नेपालीबिच सांस्कृतिक एकता, सामाजिक सद्भाव तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरिन् ।

पत्रकार सम्मेलनमा कतारमा स्थापित विभिन्न नेपाली सङ्घ–संस्थाका अध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?