© 2026
काठमान्डौँ ।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ ।
गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो ।
त्यसपछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा उनलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो ।
सांसद गुप्तालाई जरिबाना गरिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सबै नागरिक कानुनको नजरमा समान हुने सिद्धान्त कार्यान्वयन भएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने कतिपयले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन् ।
आलोचना भएपछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गरेका थिए । उनले लेखेका छन्, ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ । बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु ।’
उनले थप लेखेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु ।’
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना गरेको थियो ।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।