Butwal Today

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

चितवन । चितवनमा गत आर्थिक वर्ष २०८२ /८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछ्र्यौट भएको छ । पाँच सय ८४ मुद्दा बाँकी रहेको उनले जानकारी दिए ।

कर्तव्य ज्यान, करणी, सार्वजनिक हितविरुद्धको कसुर, बैंकिङ कसुर, लागुऔषध, आत्महत्या, चोरी, सवारी ज्यानसम्बन्धीसहितका अपराधका मुद्दा दर्ता भएका हुन् । गत आर्थिक वर्षमा जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै अपराधका घटना भएको उनले जानकारी दिए । उपरीक्षक पौडेलका अनुसार त्यस अवधिमा भरतपुर महानगरपालिकामा एक हजार १६० वटा अपराधका घटना भएका थिए । कालिका नगरपाकिलामा २३२, रत्ननगर नगरपालिकामा १४३, माडी नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ९३ र राप्ती नगरपालिकामा ७० वटा अपराधका घटना भएका छन् ।

यस्तै, इच्छाकामना गाउँपालिकामा ७९ वटा अपराधका घटना भएका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा, करणीसम्बन्धी ४५ वटा, सार्वजनिक हितविरुद्धको कसुरमा २६४ वटा, बैंकिङ कसुरमा १९२ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, लागुऔषधका ३४१ वटा, आत्महत्याका घटना ४७४ वटा, चोरीका घटना ८८ वटा, सवारी ज्यानमुद्दाका ९८ वटा र अन्य प्रकृतिका अपराधमा ३७० वटा घटना भएका थिए ।

उपरीक्षक पौडेलका अनुसार दर्ता भएका मुद्दामा एक हजार ५५१ जना पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत पेस गरिएको छ । ती मुद्दामा संलग्न भएको अभियोग लागेका ६३३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?