© 2026
चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको करिब १३ किलोमिटर लामो नहर अतिक्रमणमा परेको छ ।
भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्ने नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह तथा सरकारी निकायले वर्षौँदेखि ओगट्दै आएका छन् ।
अतिक्रमण बढ्दै गएपछि लिफ्ट सिँचाइअन्तर्गतको ‘सी’ नहर हराएर नक्सामा मात्र सीमित बनेको छ ।
भरतपुर महानगरपालिका–१ मा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजना विसं २०४० देखि सञ्चालनमा आएको हो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत ‘ए’ नहरबाट नारायणी नदीको पानी तानेर ‘बी’ र ‘सी’ नहरमार्फत सिँचाइका लागि वितरण गरिन्छ ।
‘बी’ र ‘सी’ नहरका शाखाबाट पानी लगेर किसानले खेतबारीमा सिँचाइ गर्दै आएका छन् । भरतपुर महानगरपालिका–११ को बर्सेनिदेखि राम बागसम्म फैलिएको १३ किलोमिटर लामो ‘सीएल–१’ नहर को अधिकांश जमिन अतिक्रमणमा परेको छ ।
नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेतीयोग्य जमिन घडेरीमा रूपान्तरण हुन थालेपछि नहर संरक्षणप्रति स्थानीयको चासो घट्दै गएको बताए ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार अतिक्रमण भएको क्षेत्रमा नहरमार्फत पुनः पानी सञ्चालन गर्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।
उनले सिञ्चित क्षेत्र खण्डीकरण भइसकेकाले नहरको जग्गा उपयोगका लागि स्थानीय सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको संरक्षण, रेखदेख र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
नारायणी लिफ्टका अन्य नहर पनि विभिन्न स्थानमा अतिक्रमणमा परेका छन् । सुरुमा ४ हजार ७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएकोमा हाल त्यो क्षेत्र घटेर ३ हजार २ सय हेक्टर मा सीमित भएको छ ।