© 2026
हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउने प्रयास गरे पनि भेट हुन नसकेपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै राजीनामापत्र दर्ता गराएर फर्किएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ तथा विनाविभागीय मन्त्रीहरू किरण थापा मगर, भरतबहादुर केसी र जयराम थापा रहेका छन्। मुख्यमन्त्री बानियाँ बुधबार चितवनमा आयोजित कार्यक्रममा सहभागी भएकाले भेट हुन नसकेको उनको सचिवालय निकट स्रोतले जनाएको छ। त्यसपछि एमालेका मन्त्रीहरूले कार्यालयमै राजीनामा दर्ता गराएका हुन्।
राजीनामा पत्रमा मन्त्रीहरूले आफ्नो कार्यकालमा सहयोग गर्ने मुख्यमन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, सञ्चारमाध्यम तथा प्रदेशवासीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनीहरू २०८२ साउन २० गते संविधानको धारा १६८(२) अनुसार गठन भएको सरकारमा एमालेको तर्फबाट सहभागी भएका थिए। यससँगै नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ। समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार प्रदेशसभामा अल्पमतमा परेको छ।
एमाले सरकारबाट बाहिरिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको खोजी सुरु भएको छ। अब मुख्यमन्त्री बानियाँले नयाँ बहुमत जुटाउने वा संविधानबमोजिम विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ। प्रदेशको आगामी सत्ता समीकरणबारे दलहरूबीच छलफल तीव्र हुने अनुमान गरिएको छ।