Butwal Today

लमहीमा १ महिने शिव महापुराण

६ श्रावण २०८३, बुधबार
अ+
अ-

लमही । दाङको लमहीमा सुरु भएको एक महिने श्रीशिव महापुराण भक्तिज्ञान सत्सङ्ग धार्मिक अनुष्ठान सुरु भएको छ ।

आयोजकले यसलाई ज्येष्ठ नागरिकको सेवा र संरक्षणसँग जोड्दै ‘परोपकार अक्षयकोष’ स्थापना गर्ने अभियानका रूपमा सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष अमृवाशरण देवाचार्यले बताए । पछिल्ला वर्षहरूमा धार्मिक कार्यक्रमहरू सामाजिक उत्तरदायित्वसँग जोड्ने अभ्यास बढिरहेका बेला लमहीमा सुरु भएको यो महापुराण पनि त्यही प्रयासको एउटा उदाहरण बनेको छ ।

परोपकार अमृत नेपाल, दाङको आयोजनामा सुरु भएको महापुराणबाट संकलित सहयोग ज्येष्ठ नागरिकको हितमा खर्च गर्ने उद्देश्य राखिएको आयोजक तथा प्रमुख कथावाचक देवाचार्यले बताए। उनका अनुसार धार्मिक आस्था र समाजसेवालाई एउटै अभियानमा जोड्ने लक्ष्यसहित महापुराण आयोजना गरिएको हो ।

महापुराण धार्मिक शिक्षाले समाजमा नैतिकता, अनुशासन र सद्भाव बढाउने उल्लेख गर्दै युवापुस्ताले धर्मलाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता रहेको लमही जेष्ठ नागरिक तथा समाजसेवी लमही निवासी ८५ वर्षीय कुमोद पाण्डे बताउँछन् ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले धार्मिक कार्यक्रमले मानिसमा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास हुने बताउँदै लमही बासीलाई सहभागी हुन आग्रह गरेका छन् ।

धर्मको सार मानव सेवा र विशेष गरी ज्येष्ठ नागरिक तथा अभिभावकप्रतिको सम्मानमा रहेको उनले बताए । एक महिनासम्म सञ्चालन हुने महापुराणमा हरेक बिहान संगीतमय शिवमहापुराण कथा, साँझ स्तोत्र पाठ, शृङ्गारिक महाआरती, झाँकी, भजन–कीर्तन तथा करोड दीप प्रज्वलनलगायतका धार्मिक कार्यक्रम सञ्चालन हुने गरेको छ ।

विशेष गरी साँझ हुने शृङ्गारिक महाआरती श्रद्धालुहरूको आकर्षण बनेको छ । दीप सजावट, भजन, शंखध्वनि र सामूहिक आरतीका कारण प्रत्येक साँझ ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति देखिन थालेको आयोजकले जनाएको छ ।

धार्मिक अनुष्ठानलाई केवल पूजा–आराधनामा सीमित नराखी सामाजिक सेवासँग जोड्ने प्रयास गर्ने लमही नगरपालिका स्तरीय जेष्ठ नागरिक मञ्चका अध्यक्ष दामोदर पाण्डेले बताए । उनले यसले लमहीमा भविष्यमा पनि यस्ता जनमुखी धार्मिक अभियान सञ्चालन गर्ने आधार तयार पार्ने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?