© 2026
चितवन । आज चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन् ।
विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
नवलपरासीको (बर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई आज सार्वजनिक गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए ।
उनीहरूको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ । पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ ।
दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(५घ) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ ।