© 2026
दिल्ली । भारतमा युवा नेतृत्वमा सुरु भएको ‘ककरोच जनता पार्टी ’ आन्दोलन सोमबार थप उग्र बनेको छ। संसदतर्फ मार्च गर्न खोजेका हजारौँ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेपछि राजधानी नयाँ दिल्ली तनावग्रस्त बनेको छ।
प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसदतर्फ अघि बढ्ने प्रयास गरेका थिए। सुरक्षा घेरा तोड्ने प्रयासपछि प्रहरीले बल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनका क्रममा “धर्मेन्द्र प्रधान राजीनामा देऊ” र “नरेन्द्र मोदी राजीनामा देऊ” भन्ने नाराबाजी गरिएको थियो। प्रहरी हस्तक्षेपपछि पनि आन्दोलनकारीहरू साना समूहमा विभाजित हुँदै संसद भवनतर्फ अघि बढ्ने प्रयास गरिरहेका थिए।
आन्दोलनका संस्थापक अभिजित दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलन पक्षले जनाएको छ। साथै आन्दोलनका दुई नेताले स्वास्थ्य मन्त्री जे।पी। नड्डासँग भेट गरी मागपत्र बुझाएका छन्। नड्डाले आन्दोलनका मागबारे सरकारभित्र छलफल गर्ने आश्वासन दिएका छन्।
यो आन्दोलन मे महिनामा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणपछि सुरु भएको हो। उक्त घटनाका कारण २० लाखभन्दा बढी विद्यार्थी पुनः परीक्षा दिन बाध्य भएका थिए। त्यसयता आन्दोलन परीक्षा प्रणाली सुधार, भ्रष्टाचार नियन्त्रण र युवाको बढ्दो बेरोजगारीविरुद्धको अभियानका रूपमा विस्तार हुँदै गएको छ।
यसैबीच, अनशनरत अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले बलपूर्वक अस्पताल लगेको घटनापछि आन्दोलनमा थप समर्थन जुटेको छ। वाङ्चुकले सरकार प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी लिएर सुधारको प्रतिबद्धता जनाए वा आन्दोलनकारीलाई संसदसम्म पुग्न दिने वातावरण बनाए आफू अनशन तोड्न तयार रहेको बताएका छन्।ककरोच’ आन्दोलन अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि सबैभन्दा ठूलो सार्वजनिक चुनौतीका रूपमा विकसित हुँदै गएको छ।