© 2026
बाँके ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियो थेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा पश्चिम नेपालका क्यान्सरका बिरामी उपचारका लागि भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन् ।
अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियो थेरापी सेवा लिँदै आएका थिए । तर मेसिन बिग्रिएपछि उनीहरू बहराइच, लखनउ र दिल्लीलगायतका भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने अवस्था सिर्जना भएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ती प्रदेशका बिरामीका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख केन्द्र हो ।
अस्पताल प्रशासनका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक उपलब्ध छैनन् । मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै मर्मतका लागि प्राविधिक नपठाएपछि सेवा पुनः सञ्चालन अन्योलमा परेको हो । अस्पतालले खरिद सम्झौतामा उल्लेख भएको एचएस कोड र कन्ट्री अफ ओरिजिन भन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएकाले सप्लायर्सको बाँकी भुक्तानी रोकिएको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले समस्या समाधानका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताए । मन्त्रालयबाट आवश्यक निर्णय भएपछि मेसिन पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उनले बिरामीले भोग्नुपरेको समस्याबारे मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।
अस्पतालका अनुसार उक्त लिन्याक मेसिन २०७९ पुसमा खरिद गरिएको भए पनि खरिदसम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो । मन्त्रालयले गठन गरेको छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक रहेको उल्लेख गर्दै प्रतिवेदन बुझाएको थियो । हालसम्म सो विषयमा अन्तिम निर्णय नहुँदा बाँकी भुक्तानी रोकिएको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालका अनुसार २७ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद सम्झौता भएको उक्त मेसिनको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ भने करिब आठ लाख छ हजार अमेरिकी डलर भुक्तानी गर्न बाँकी छ ।