© 2026
भैरहवा । युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सेवामूलक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा समुदायमा आधारित ‘इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी’ गठन गरिएको छ ।
१६ देखि १८ वर्ष उमेर समूहका ३५ जना किशोर–किशोरी चार्टर सदस्य रहेको क्लबको चार्टर अध्यक्षमा आर्यन भण्डारी चयन भएका छन् । क्लबको सहप्रायोजक रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी रहेको छ ।
नवगठित क्लबका सदस्यहरूलाई इन्टर्याक्टको उद्देश्य, मूल्य, नेतृत्व विकास र सेवामूलक गतिविधिबारे जानकारी गराउने उद्देश्यले सदस्य अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि असाइन्ड असिस्टेन्ट गभर्नर रोटेरियन नुमलाल पौडेलले युवाहरू समाज परिवर्तनका सशक्त वाहक भएको उल्लेख गर्दै रोटरी परिवारसँगको आबद्धताले नेतृत्व क्षमता, अनुशासन, सेवाभाव र विश्वव्यापी मित्रताको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि असिस्टेन्ट गभर्नर रोटेरियन डा। शतदल चौधरीले युवालाई सही दिशा, सकारात्मक सोच र सेवामूलक कार्यमा अग्रसर बनाउन इन्टर्याक्टको महत्वपूर्ण भूमिका रहेको बताए । रोटरीका पूर्वअध्यक्ष तथा नेपाल बाल कल्याण संस्थाका पूर्वअध्यक्ष रोटेरियन शिव गौडेलले सामाजिक उत्तरदायित्व, नैतिक मूल्य र नेतृत्व विकासका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
अभिमुखीकरण कार्यक्रममा इन्टर्याक्ट जिल्ला समितिका अध्यक्ष निश्चल गौतमले इन्टर्याक्टको इतिहास, उद्देश्य र विश्वव्यापी प्रभावबारे प्रस्तुति दिए । सुमन भट्टराईले इन्टर्याक्ट सदस्यको भूमिका, जिम्मेवारी र नेतृत्व विकासका अवसरबारे जानकारी गराए ।
त्यसैगरी जोनल इन्टर्याक्टर प्रतिनिधि (जेडआईआर) विधान भण्डारीले क्लबका गतिविधि, परियोजना तथा व्यक्तिगत विकासका अवसरबारे जानकारी दिँदै नवसदस्यहरूलाई सेवामूलक अभियानमा सक्रिय हुन आग्रह गरे ।
चार्टर अध्यक्ष आर्यन भण्डारीले एसईईपछि विभिन्न कलेजमा अध्ययनका लागि छरिएका युवालाई एउटै साझा मञ्चमा आबद्ध गराई नेतृत्व विकास, व्यक्तित्व निर्माण, सीप अभिवृद्धि र समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले समुदायमा आधारित क्लब स्थापना गरिएको बताए ।
कार्यक्रमका सभापति तथा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटेरियन गंगाधर भण्डारीले क्लबमार्फत युवाको व्यक्तिगत, व्यावसायिक र सामाजिक क्षमता अभिवृद्धिका लागि आवश्यक मार्गदर्शन, प्रशिक्षण, परामर्श तथा अवसर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
यस अवसरमा डिस्ट्रिक्ट रोटा क्विज चेयर रोटेरियन उमेश आचार्यले रोटरीको आधिकारिक लोगो, रोटरी पिनको महत्त्व तथा रोटरी युथ लिडरसिप अवार्ड (आरवाईएलए) र रोटरी युथ एक्सचेन्ज कार्यक्रमबारे जानकारी गराउँदै सदस्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेतृत्व विकासका अवसरको सदुपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा रोटरी तथा रोटर्याक्टका पदाधिकारी, सदस्य, अभिभावक र नवगठित इन्टर्याक्ट क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले समुदायमा आधारित इन्टर्याक्ट क्लबको स्थापना युवालाई नेतृत्व, सेवा, मित्रता र सामाजिक उत्तरदायित्वसँग जोड्ने महत्वपूर्ण अभियानका रूपमा लिएको जनाएको छ । क्लबले युवामा सकारात्मक सोच, सिर्जनशीलता र सेवामूलक भावनाको विकास गर्दै समाजमा दिगो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।