Butwal Today

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

३२ असार २०८३, बिहीबार
अ+
अ-

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ।
दुर्घटनामा माइक्रोबसका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ निवासी १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ निवासी ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवा निवासी २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलिया निवासी ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ निवासी ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएको चन्दले जानकारी दिए ।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्दले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?