© 2026
अर्घाखाँची । बजारमा पाइने दूधमा मिसावटको त्रास र शङ्कालाई चिर्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ वटा डेरीको दूध परीक्षण गरेको छ ।
नगरपालिकाको आग्रहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाद्वारा गरिएको दूधको परीक्षणले यहाँको दूधमा मिसावट नभएको पुष्टि गरेको नगरपालिकाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले जानकारी दिए ।
तिलोत्तमा नगरपालिका कार्यालयले स्थानीय बजारबाट सङ्कलन गरिएका तरल दूधका विभिन्न १६ वटा नमुनाहरू परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको थियो । नमुना परीक्षणमा विशेष गरी ’न्युट्रलाइजर’ र ’स्टार्च’ को उपस्थितिबारे विस्तृत प्राविधिक जाँच गरेको समेत खनालको भनाइ छ ।
प्रयोगशालाको प्रतिवेदनअनुसार, सङ्कलित सबै १६ वटा नमुनाहरूको परीक्षण रिपोर्ट राम्रो देखिएको नगरपालिकाका उपप्रमुख जगेश्वरि चौधरीले बताइन । उपप्रमुख चौधरीको संयोजकत्वमा हरेको अनुगमन समितिले बजार अनुगमन गरिरहेको छ ।
न्युट्रलाइजरः परीक्षण गरिएका सबै १६ वटै नमुनामा ’नेगेटिभ’ देखिएको छ, जसको अर्थ दूधको अम्लीयपन घटाउन कुनै हानिकारक रसायन मिसाइएको छैन भन्ने रिपोर्ट प्राप्त भएको छ प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले भने दूधजन्य पदार्थको अनुगमन निरन्तर गर्ने छौ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाका खाद्य अनुसन्धान अधिकृत श्रवण कुमार ढुङ्गानाद्वारा हस्ताक्षरित सो प्रतिवेदनले परीक्षण गरिएका प्यारामिटरहरूको नतिजा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्डअनुसार नै रहेको पाइएको छ ।
दूधको गुणस्तरमाथि प्रश्न उठिरहने समयमा स्थानीय सरकारको सक्रियता र सरकारी प्रयोगशालाको यो प्रतिवेदनले दूध उत्पादक, बिक्रेता र उपभोक्ताबिच विश्वासको वातावरण निर्माण गर्न मद्दत पु¥याएको छ ।
तिलोत्तमा नगरपालिकाको यो प्रयासले अन्य स्थानीय तहका लागि पनि खाद्य स्वच्छता कायम राख्न एक उदाहरणीय मार्गचित्र प्रदान गरेको छ ।