© 2026
चन्द्रौटा ।
फरक पहिचान समाज नेपालकी अध्यक्ष वर्षा सिंह ठकुरीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले घरदेखि सार्वजनिक स्थलसम्मै विभेद र असुरक्षा महसुस गरिरहेको बताएकी छन् । मंगलबार शिवराज नगरपालिका–१, कपिलवस्तुमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
अधिकार सुनिश्चित भए पनि व्यवहारमा समानता र सम्मानको अवस्था अझै कमजोर रहेको उनले बताइन् । समुदायको सुरक्षा, सम्मान र समान पहुँचका लागि राज्य र समाज दुवै जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष ठकुरीले जोड दिइन् । कानुनी अधिकार भए पनि व्यवहारिक रूपमा समानता र सम्मानको वातावरण अझै बन्न नसकेको अध्यक्ष ठकुरीले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड उनले दिइन् । “पहिचानकै कारण हुने भेदभाव अन्त्य गर्दै हरेक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न आवश्यक छ,” उनले भनिन् । यस्तै संविधानसभा सदस्य सुनिलबाबु पन्तले संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र समानताको हक सुनिश्चित गरेको उनले बताए । तर अझै केही कानुन अझै विभेदकारी रहेको र कार्यान्वयनमा चुनौती देखिएको उनको भनाइ छ । अधिकारको प्रभावकारी कार्यान्वयनसँगै दुरुपयोग हुन नदिन पनि ध्यान दिनुपर्ने सदस्य पन्तले उल्लेख गरे ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई प्रशिक्षणात्मक सहजीकरणसमेत गरिएको थियो । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा फरक पहिचान समाज नेपालको समन्वयमा भएको कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।