Butwal Today

रियाना बुटिक एण्ड गार्मेन्ट ट्रेनिङ्गले महिलालाई स्वरोजगारसँग जोड्दै

३० असार २०८३, मंगलवार
अ+
अ-

बुटवल ।

महिलालाई सीप, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले स्थापना गरिएको रियाना बुटिक एण्ड गार्मेन्ट ट्रेनिङ्ग इन्स्टिच्युट बुटवलमा सोमबार औपचारिक रूपमा उदघाटन गरिएको छ । ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ र सफल भविष्य निर्माण गरौँ’ भन्ने मूल नारासहित सञ्चालनमा आएको संस्थाले साउन १ गतेदेखि नियमित रूपमा बुटिक तथा गार्मेन्टसम्बन्धी व्यावसायिक तालिम सञ्चालन गर्ने भएको छ ।

इन्स्टिच्युटको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आजको समयमा सीपमूलक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । विशेषगरी महिलाहरूलाई स्वरोजगार र उद्यमशीलतातर्फ अग्रसर गराउन यस्ता तालिम केन्द्रहरूको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले सीप नै दीर्घकालीन आयआर्जनको आधार भएको धारणा व्यक्त गरिन् ।

उपप्रमुख अर्यालले बुटवल उपमहानगरपालिकाले विभिन्न लक्षित वर्गका महिलालाई सीपसँग जोड्दै उद्यम विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै निजी क्षेत्रबाट सञ्चालनमा आएको यस्तो संस्थाले पनि प्रशिक्षार्थीलाई व्यावसायिक ज्ञान, दक्षता र रोजगारीका अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्यमशील समाज निर्माणका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताए । महिलाहरूलाई उद्योग तथा साना उद्यमसँग जोड्न यस्ता व्यावसायिक तालिम केन्द्रले प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै उनले सीपलाई उत्पादन र बजारसँग जोड्न सके स्वरोजगारसँगै आर्थिक विकासमा समेत टेवा पुग्ने धारणा राखे ।

त्यस्तै रुपन्देही व्यापार संघका कोषाध्यक्ष तथा रुपन्देही होजियारी संघका अध्यक्ष अर्जुन भट्टराईले सीपले व्यक्तिको जीवन परिवर्तन गर्ने शक्ति राख्ने बताए । उनले व्यावसायिक सीप हासिल गरेपछि रोजगारी खोज्नुभन्दा रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै यस्ता तालिमले स्थानीय उत्पादन, उद्यमशीलता र राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउन सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मोटिभेशनल स्पीकर डा. विष्णु घिमिरेले प्रशिक्षार्थीलाई प्रेरणामूलक सहजीकरण गर्दै पैसा भन्दा ठूलो सम्पत्ति सीप भएको बताए । उनले सीपसँगै लगनशीलता, निरन्तर अभ्यास, अनुशासन र मेहनत भएमा सफलता प्राप्त गर्न कठिन नहुने उल्लेख गर्दै तालिमलाई केवल प्रमाणपत्रका लागि नभई व्यावसायिक दक्षता विकासका रूपमा लिन आग्रह गरे ।

इन्स्टिच्युटका सञ्चालक मदन घिमिरेले बुटवलमा लामो समयदेखि सञ्चालनमा रहेको लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योगबाट प्राप्त अनुभवलाई आधार बनाएर व्यावसायिक तालिम केन्द्र स्थापना गरिएको जानकारी दिए । उद्योगमार्फत हाल करिब ७० देखि ८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको उल्लेख गर्दै उनले तालिम पूरा गरेका युवायुवतीलाई उद्योगमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए ।

उनका अनुसार इन्स्टिच्युटमा सञ्चालन हुने तालिम पूर्ण रूपमा व्यवहारिक र बजारमुखी हुनेछ । प्रशिक्षार्थीलाई बुटिक, गार्मेन्ट, कटिङ, सिलाइ, डिजाइनिङ तथा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ । तालिम पूरा गरेपछि आफ्नै व्यवसाय सञ्चालन गर्न तथा गार्मेन्ट उद्योगमा रोजगारी प्राप्त गर्न सक्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य संस्थाले लिएको उनले बताए ।

रियाना बुटिक एण्ड गार्मेन्ट ट्रेनिङ्ग इन्स्टिच्युटमा साउन १ गतेदेखि पहिलो चरणको तालिम सुरु हुनेछ । हालसम्म करिब ६० जनाले नाम दर्ता गरिसकेका छन् । संस्थाले एक महिने एड्भान्स र तीन महिने आधारभूत व्यावसायिक तालिम सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रममा सहायक प्रशिक्षक निलम पाण्डेले तालिमको प्रकृति, पाठ्यक्रम, सिकाइ प्रक्रिया तथा तालिमपछि प्राप्त हुने अवसरबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण पत्रकार पारु न्यौपानेले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?