Butwal Today

हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा  हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधन धनीलाई हस्तान्तरण गरेको छ ।

कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधन धनीलाई बुझाएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले हराएका तथा चोरी भएका सवारीसाधन खोजीलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको बताए । उनले सवारी धनीलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरे ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधनको सुरक्षामा सवारी धनीकै भूमिका महत्त्वपूर्ण हुने भएकाले जीपीएस प्रणाली जडान, सुरक्षित पार्किङ स्थल प्रयोग र आवश्यक सावधानी अपनाउने चोरी तथा हराउने घटना कम गर्न सकिने बताए ।

ट्राफिक प्रहरीले हराएका तथा चोरी भएका सवारीसाधनको खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?