© 2026
सल्यान । सल्यानको एक सामुदायिक विद्यालयमा अभिभावक गुमाएका र गरिब परिवारका बालबालिकाका लागि एउटा सहारा तयार भएको छ ।
आर्थिक अभावले पिरोलिएका, बुबा आमाको छहारी गुमाएका र गाउँको भौगोलिक विकटताका कारण नियमित विद्यालय जान नपाएका बालबालिकाहरूका लागि छात्रावास निर्माण गरिएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ स्थित जनकल्याण आधारभूत विद्यालय, तल्लो मार्केमा निर्माण गरिएको नयाँ छात्रावास भवनको हालै उद्घाटन गरिएको हो । स्थानीय सरकार, समुदाय, सामुदायिक वन र दाताहरूको संयुक्त लगानी र श्रमदानबाट यो भवन बनेको हो ।
यो भवन निर्माणका लागि शारदा नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको थियो । बाँकी लगानी स्थानीयवासीको जनश्रमदान र अन्य सहयोगबाट जुटाइएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण वलीका अनुसार करिब १० लाख रुपैयाँको लागतमा यो छात्रावास तयार भएको हो । भवन बनाउँदा स्थानीयले श्रमदान गरेका थिए भने आवश्यक काठ सामुदायिक वन र स्थानीयवासीले निःशुल्क दिएका थिए ।
निर्माण सामग्री ओसार्नका लागि शारदा नगरपालिकाले ट्याक्टर र जेसीबीको व्यवस्था गरिदिएको थियो । ढुङ्गा र माटोको गारो हालेर बनाइएको भवनमा जस्तापाताको छानो छ भने बाहिर सिमेन्ट र बालुवाले प्लास्टर गरिएको छ । उद्घाटनका क्रममा नगरप्रमुख प्रकाश भण्डारीले सीमित स्रोत साधनका बिच पनि समुदायको सक्रियताले यो काम सम्भव भएको बताए ।
अहिले यो छात्रावासमा ४७ जना बालबालिका बस्न थालिसकेका छन् । विद्यालयले उनीहरूको पारिवारिक अवस्था हेरेर बस्ने व्यवस्था मिलाएको छ । यसमा पहिलो प्राथमिकतामा बुबा आमा दुवै गुमाएका ११ जना बालबालिका परेका छन् । दोस्रो प्राथमिकतामा आमा वा बुबामध्ये एकजना नभएका १७ जना छन् । त्यस्तै आर्थिक रूपमा अति विपन्न परिवारका ७ जना र घर टाढा भई दैनिक आउन जान समस्या हुने ९ जना बालबालिका बिद्यालयको छात्रावासमा बसेर पढिरहेका छन् ।
छात्रावासमा बस्ने बालबालिकाको हेरचाह, सुरक्षा र खानपान व्यवस्थापनका लागि शिक्षक, शिक्षिका, कर्मचारी र भान्सेसहित ५ जनाको जनशक्ति खटाइएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले बालबालिकाको खानपानका लागि २ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । विद्यालयले विद्यार्थीलाई पोशाक, कापी, कलम र अन्य शैक्षिक सामग्री निःशुल्क दिँदै आएको छ ।
यो छात्रावास चलाउन गाउँलेले पनि राम्रो साथ दिएका छन् । स्थानीयवासीले आफ्नो जन्मदिन, विवाह, व्रतबन्ध वा पूजाआजा जस्ता अवसरमा छात्रावासमा खाद्यान्न र नगद सहयोग गर्ने गरेका छन् । छात्रावासलाई सधैँ अरूको भर पर्न नपरोस् र आत्मनिर्भर बनोस् भनेर विद्यालयले एउटा नयाँ योजना पनि सुरु गरेको छ । विद्यालयले आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको छ ।
यसबाट बालबालिकालाई ताजा तरकारी खुवाउनुका साथै भोलिका दिनमा तरकारी बेचेर आएको पैसाले छात्रावासको खर्च धान्ने लक्ष्य राखिएको छ । यसैबीच छात्रावास उद्घाटनकै अवसरमा विद्यालयमा लामो समय सेवा गरेर अवकाश पाएका प्रधानाध्यापक डिल्लीबहादुर भण्डारीलाई बिदाइ गरिएको थियो । उनी २०६० सालदेखि २०८३ को असारसम्म यस विद्यालयमा कार्यरत थिए ।
शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै उनीसँगै छात्रावासका लागि निःशुल्क जग्गा दिने जग्गादाताहरू कालीबहादुर बुढाथोकी, पिमकली बुढाथोकी र हुकुम बस्नेतलाई पनि सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाथोकीले जानकारी दिए ।