Butwal Today

शल्यक्रिया सेवा बन्द, विपन्न र जटिल अवस्थाका गर्भवती जोखिममा

२९ असार २०८३, सोमबार
अ+
अ-

सल्यान । सल्यान जिल्ला अस्पतालमा चिकित्सकको अभावका कारण डेढ दशक अघि सुरु गरिएको आकस्मिक शल्यक्रिया सेवा फेरि प्रभावित बनेको छ ।

सरकारले दीर्घकालीन रूपमा चिकित्सकको व्यवस्था गर्नुको साटो टालटुले नीति अपनाउँदा ग्रामीण भेगका विपन्न बिरामी र विशेष गरी जटिल अवस्थाका गर्भवती महिलाहरू सबैभन्दा बढी मारमा परेका छन् ।

एनआईएस कार्यक्रम अन्तर्गत दुई महिनाका लागि मात्र काजमा खटाइएका एमडिजिपी डा. रहिस कोजु र मेडिकल अधिकृत डा. सुमन यादवको कार्य अवधि सकिएर फर्किएपछि शनिबारदेखि अस्पतालको शल्यक्रिया सेवा फेरि बन्द हुन पुगेको हो ।

यसअघि पनि सेवा बन्द भएपछि सरकारले दुई महिनाका लागि मात्र चिकित्सक पठाएको थियो । तर उनीहरूको म्याद सकिने बित्तिकै अस्पताल पुरानै अवस्थामा फर्किएको हो । शल्यक्रिया सेवा बन्द भएसँगै जिल्लाका विभिन्न पालिकामा रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट रिफर भएर आउने बिरामीहरू अलपत्र परेका छन् । ग्रामीण क्षेत्रबाट ठुलो ऋण धन र खर्च गरेर जिल्ला अस्पताल आइपुग्ने बिरामीहरू उपचार नपाई पुनः बाहिरी जिल्ला जान बाध्य छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले जिल्ला अस्पतालमा महिनामा औसत एक सयभन्दा बढी सुत्केरी हुने गरेको बताउँछन् । तीमध्ये करिब १० देखि १२ जनाको अनिवार्य शल्यक्रिया गर्नुपर्ने अवस्था हुने गरेको उनको भनाइ छ । “अस्पतालमै सेवा उपलब्ध होस् र कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो चाहना हो, तर दक्ष चिकित्सक नै नभएपछि बिरामीलाई दाङ, नेपालगन्ज र सुर्खेतका अस्पतालमा रिफर गर्न बाध्य भएका छौँ,“ डा. बुढाले भने ।

विशेष गरी दुई तीन घण्टा लामो र कच्ची बाटोमा गाडी वा एम्बुलेन्समा यात्रा गर्नुपर्ने भएकाले जटिल अवस्थाका गर्भवती महिलाहरूको ज्यान नै जोखिममा पर्ने गरेको अस्पतालले जनाएको छ ।

वि.सं. २०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यानको सरकारी स्वीकृत दरबन्दी आजभन्दा ३८ वर्ष अगाडिकै अर्थात् १५ शय्या (बेड) को मात्रै छ । तर बिरामीको चाप बढेपछि अस्पतालले आन्तरिक स्रोत र व्यवस्थापनबाट हाल ४० भन्दा बढी बेड सञ्चालन गरेर सेवा दिइरहेको छ ।

बेड संख्या र बिरामीको चाप तेब्बरले बढे पनि सोही अनुपातमा स्थायी विशेषज्ञ चिकित्सक र जनशक्ति थप्न सरकारले चासो नदिँदा अस्पतालको सेवा प्रभावकारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?