© 2026
बुटवल । बुटवल र पाल्पा क्षेत्रका दुई ऐतिहासिक व्यक्तित्व राजा मणिमुकुन्द सेन र कर्णेल उजिरसिंह थापाको जीवन, व्यक्तित्व र योगदान समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
बुटवलमा तीन दशकदेखि पत्रकारितामा सक्रिय महेन्द्र थापाद्वारा लिखित ‘मणिमुकुन्द सेन र उजिरसिंह थापाः व्यक्ति, व्यक्तित्व र योगदान’ शीर्षकको पुस्तक एक समारोहका बिच लोकार्पण गरिएको हो ।
पुस्तकको संयुक्त रूपमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, पूर्व उपप्रमुख तथा इतिहास–संस्कृतिविद् विमलबहादुर शाक्य, अग्रज पत्रकार मदनलाल पौडेल र इतिहास तथा संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले लोकार्पण गरेका थिए ।
लोकार्पण कार्यक्रममा बुटवलमा कार्यरत पत्रकार, साहित्यकार, लेखक, शिक्षक, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
लेखक थापाले बुटवल–पाल्पा क्षेत्रको इतिहाससँग गहिरो सम्बन्ध रहेका दुई महत्त्वपूर्ण व्यक्तित्वबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा उनीहरूको योगदानलाई थप उजागर गर्ने उद्देश्यले पुस्तक लेखिएको बताए ।
मणिमुकुन्द सेन तत्कालीन पाल्पा राज्यका प्रतापी शासकका रूपमा परिचित छन्। त्यसै गरी कर्णेल उजिरसिंह थापाले वि.सं. १८७१–७२ मा बुटवल क्षेत्रमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली सेनाको नेतृत्व गर्दै अङ्ग्रेज सेनामाथि ऐतिहासिक विजय हासिल गरेका थिए ।
पुस्तकले यी दुवै ऐतिहासिक व्यक्तित्वको जीवन, नेतृत्व, योगदान र उनीहरूले क्षेत्रीय इतिहासमा पु¥याएको प्रभावलाई समेटेको लेखकको भनाइ छ ।