Butwal Today

सैनामैना प्रेस क्लब र साइकल साथीबिच सहकार्य सम्झौता

२८ असार २०८३, आइतबार
अ+
अ-

सैनामैना । सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच विभिन्न सामाजिक, वातावरणीय तथा जनचेतनामूलक कार्यक्रमहरूमा सहकार्य गर्ने उद्देश्यले आइतबार सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले संयुक्त रूपमा हस्ताक्षर गरे ।

साइकल साथी सैनामैनाले आगामी साउन १ र २ गते बृहत् रूपमा ‘कोरा साइकल’ कार्यक्रम आयोजना गर्दैछ । साउन १ गते कोरा साइकल रेस तथा सैनामैना –२ स्थित हिल पार्कमा डस्टबिन स्थापना गर्ने कार्यक्रम रहेको छ । साउन २ गते बृहत् कोरा साइकल आयोजना गरिनेछ । उक्त कार्यक्रमका लागि नाम दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।

सैनामैना –४ मुर्गियास्थित लुम्बिनी गेटबाट सुरु हुने कोरा साइकल यात्रा रिङ रोडको परिक्रमा गर्दै करिब ५५ किलोमिटर दूरी तय गर्नेछ । यात्रा मुर्गियास्थित दुर्गा मन्दिरमा पुगेर समापन हुनेछ । समापन कार्यक्रममा सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले साइकल साथीले विगतदेखि नै सैनामैनाको पहिचान प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि ती गतिविधि आम नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको बताए । अब सैनामैना  प्रेस क्लबसँगको सहकार्यमार्फत सैनामैनालाई देशभर फरक पहिचानका साथ स्थापित गर्न थप सहयोग पुग्ने उनको विश्वास छ ।

सैनामैना प्रेस क्लबका अध्यक्ष दीपक न्यौपानेले समाचार सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्वका गतिविधिमा पनि साइकल साथीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

सम्झौतासँगै दुवै संस्थाले आगामी दिनमा विभिन्न कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम साइकल साथी सैनामैनाका सचिव भुवन रावलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?