© 2026
नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाटमा फिफा विश्वकप फुटबलको रोमाञ्चक खेलसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
बर्दघाट–४ स्थित कुमुदिनी इङ्ग्लिस बोर्डिङ स्कुलले आइतबार बिहान अर्जेन्टिना र स्विट्जरल्यान्डबीच भएको विश्वकप क्वार्टरफाइनल खेलको प्रत्यक्ष प्रसारण पर्दामा देखाउँदै रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बिहान ६ः४५ बजेदेखि सुरु भएको खेल हेर्दै रक्तदान गर्ने विशेष व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा अन्य सहभागी गरी ३५ जनाले रक्तदान गरेका छन् ।
खेलको रोमाञ्चसँगै सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक कमला शर्माले बताइन् ।
फुटबलप्रेमीहरूले विश्वकपको महत्त्वपूर्ण खेल नछुटाई रक्तदान गर्न सकून् भन्ने उद्देश्यले ठूलो पर्दामा खेल हेर्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । खेल हेर्दै रक्तदान गर्ने फरक शैलीको कार्यक्रमले सहभागीहरूमा उत्साह थपेको आयोजकको भनाइ छ ।