© 2026
चन्द्रौटा । वाणगंगा खोलामा अचानक पानीको बहाव बढेपछि खोलाको बीचभागमा फसेका ७ जना किशोरको सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बालापुरस्थित खोलामा सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेका हो ।
शनिवार दिउँसो करिब २ः५० बजे पौडी खेल्न गएका किशोरहरू खोलाको बहाव एक्कासि बढेपछि बीचभागमै फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा २० जनाको टोली विपद् उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा ११ जनाको टोली, जि.प्र.का कपिलवस्तुबाट प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहको नेतृत्वमा ११ जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्ट घटनास्थल पुगेका थिए ।
प्रहरीका अनुसार उद्धार हुनेमा बाणगंगा–४ का सम्राट् गिरी, निर्वाचन नेपाली, ज्ञानेन्द्र परियार, कृष्ण तिवारी, मनिस थापा, वडा नम्बर १ का विकल्प रेग्मी, वडा नम्बर ८ का सुभाष घिमिरे रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुले रबर बोट परिचालन गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार अभियान सुरु गरेको थियो ।
नेपाली सेना शमशेर दल गण गोरुसिङ्गेबाट मेजर मीनबहादुर सिंहको नेतृत्वमा ३० जनाको टोली पनि उद्धारमा खटिएको थियो । दिउँसो करिब ४ बजे खोलामा फसेका सातै जनाको सकुशल उद्धार कार्य सुरु गरिएको थियो ।