© 2026
काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफकी लेखातर्फकी प्रहरी निरीक्षक कल्पना गुरुङ विद्यालयको रकम अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको हिरासतमा रहेकी छन्। कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयको पत्रपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंले गुरुङलाई पहिलो चरणमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। थप अनुसन्धान आवश्यक परे प्रहरीले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउनेछ। सशस्त्र प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयबाट विद्यार्थी शुल्कबापत संकलन गरिएको रकम कल्याणकारी सेवा केन्द्रको खातामा जम्मा गर्नुपर्ने व्यवस्था भए पनि गुरुङले रकम जम्मा गरेको भनी गलत विवरण पठाएर मुख्यालयलाई झुक्याएको आरोप छ।
मुख्यालयका अनुसार २०८२ मंसिर अन्तिमतिर करिब २ करोड रुपैयाँ जम्मा गरिएको जानकारी गराइए पनि बैंक विवरण परीक्षण गर्दा रकम खातामा जम्मा नभएको खुलेको थियो। त्यसपछि कल्याणकारी सेवा केन्द्रले बजेट निकासा रोक्दै स्पष्टीकरण मागेको जनाएको छ। पछि गुरुङले बैंकिङ प्रणालीमा प्राविधिक समस्या आएको भन्दै थप रकमसहित ५ करोड रुपैयाँ जम्मा गरेको दाबी गर्दै बैंक भौचरसमेत पठाएकी थिइन्। तर सम्बन्धित बैंकबाट प्राप्त विवरणमा उक्त रकम पनि खातामा जम्मा नभएको पुष्टि भएको सशस्त्र प्रहरीको दाबी छ।
घटनापछि डीआईजी युवराज अर्यालको नेतृत्वमा गठन गरिएको छानबिन समितिले गुरुङलाई रकम हिनामिनाको मुख्य जिम्मेवार ठहर गरेको जनाएको छ। प्रतिवेदनपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिइएको हो। अनुसन्धानका क्रममा विद्यालयको करिब ११ करोड रुपैयाँ अनियमितता भएको आशंका गरिएको छ। प्रहरीले गुरुङसँगै लिला लामा नामक एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा विद्यालयको रकम लामाको खातामा पठाइएको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।