© २०२३
बर्दघाट, १० माघ ।
औद्योगिक विकास विना देशको विकास हुन नसक्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले बताएका छन् । दोश्रो सुनवल औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै मन्त्री प्रधानले उक्त कुरा बताएका हुन् ।
कृषि, पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा मंगलबारदेखि सुरु भएको औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार जनतालाई कसरी खुसी राख्ने भन्ने सोचका साथ अगाडि बढेको बताए । उनले यस क्षेत्रको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल परामर्श गरिरहेको बताए । अहिले उद्योगी व्यवसायीहरु समेत धरासायी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि क्याविनेटमा छलफल भईरहेको मन्त्री प्रधानले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य खडक बस्नेतले यस क्षेत्रको हरेक विकासमा आफ्नो सहयोग रहने बताए । उनले यस क्षेत्रको भौतिक, समाजिक, शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागि परेको बताएका हुन् । यस्तै सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखी सुनवलवासी बनाउन नगर लागिरहेको बताइन् । कार्यक्रममा निवर्तमान नगरप्रमुख भिमबहादुर थापाले सुनवलको समग्र विकासलाई जोड दिदै औद्योगिक ग्रामलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।
यस क्षेत्रका उद्योगी, व्यापार व्यवसाय, कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरिएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।
आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका वस्तुहरु र पहाडी कृषिजन्यका गरी १५० स्टल रहेको संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिए ।
मेला अवलोकनका लागि जेष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था, विद्यार्थीलाई ७० र अन्यलाई १०० रुपैयाँ टिकटको व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रसार समिति संयोजक तथा मेला प्रवक्ता तेजु भण्डारीले जानकारी दिए । मेलालाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा विभाजन गरिएको छ । मेलामा स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।