© 2026
चन्द्रौटा । कपिलवस्तुका केही बस्तीहरूमा यति बेला बिहानको पहिलो चिन्ता पानीको जोहो बनेको छ । केही महिना अघिसम्म सहजै पानी दिने चापाकलहरू अहिले सुक्न थालेपछि स्थानीयवासीको दैनिकी नै प्रभावित भएको छ ।
भूमिगत पानीको सतह घटेसँगै गाउँका अधिकांश चापाकलले पानी दिन छाडेका स्थानीयहरूको दुखेसो छ । शिवराज नगरपालिका–३ का मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हंश बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा लगायतका बासिन्दा खानेपानीको अभाव झेलिरहेका छन् । बिहानैदेखि पानीको खोजीमा भौँतारिनुपर्ने अवस्था सिर्जना भएको स्थानीय संदिप यादव बताउँछन् ।
खडेरीका कारण समस्या बढ्दै गएपछि वडा कार्यालयले तत्काल राहतका लागि ट्याङ्करमार्फत खानेपानी वितरण सोमबारबाट सुरु गरेको छ । खानेपानीको सङ्कट समाधान नभएसम्म वितरण कार्यलाई निरन्तरता दिइने वडा अध्यक्ष सापकोटाले बताए ।
अध्यक्ष सापकोटाले भने, “खडेरीका कारण वडाका अधिकांश चापाकल (हेन्डपाईप) सुकिसकेका छन् र स्थानीयवासीले दैनिक उपभोगका लागि समेत पानी पाउन कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा नागरिकलाई खानेपानीको अभाव हुन नदिन वडा कार्यालयले तत्काल ट्याङ्करमार्फत पानी वितरण सुरु गरेको हो ।” हाल दैनिक पाँचदेखि ६ वटा ट्याङ्कर परिचालन गरेर प्रभावित बस्तीमा पानी पु¥याइरहेका छौँ ।
समस्या पूर्ण रूपमा समाधान नभएसम्म र पर्याप्त वर्षा नभएसम्म आवश्यकताअनुसार पानी वितरण कार्यलाई निरन्तरता दिनेछौँ । साथै दीर्घकालीन रूपमा खानेपानी व्यवस्थापनका उपायहरूबारे पनि पहल भइरहेको छ । वडा अध्यक्ष सापकोटाको नेतृत्वमा दैनिक पाँचदेखि ६ वटा ट्याङ्कर परिचालन गरी प्रभावित बस्तीमा पानी पु¥याइँदै आएको छ । हाल प्रत्येक घरपरिवारलाई १ सय लिटरका दरले खानेपानी उपलब्ध गराइँदै आएको वडा कार्यालयले जनाएको छ ।
यस्तै खरेन्द्रपुरका स्थानीय सीता थारुको समस्या पनि उस्तै थियो । बिहान उठ्ने बित्तिकै अन्य टेन्सनभन्दा पनि पानीकै तनाव हुने गरेको दुखेसो सुनाइन् । थारु भन्छिन्, “पहिले घर नजिकैको चापाकलबाट सहजै पानी आउँथ्यो, अहिले बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउन थालेको छ । घरको कामकाज, खाना पकाउनेदेखि बालबालिकाको हेरचाहसम्म सबै काम पानीमै निर्भर हुन्छन् ।
पानीका लागि घन्टौँ कुर्नुपर्ने र कहिलेकाहीँ टाढा जानुपर्ने अवस्था थियो । अहिले वडाले ट्याङ्करबाट पानी वितरण गरेपछि राहत मिलेको छ । दीर्घकालीन समाधान नहुँदा दिनहुँ यही चिन्तासँग जुध्नुपर्छ ।”
खडेरीले पानीका मुहान मात्र सुकाएको छैन, यसले स्थानीयको दैनिकी, स्वास्थ्य र सरसफाइमा समेत असर पु¥याउन थालेको छ । वर्षा नहुँदा भूमिगत पानीको सतह झन् घट्ने चिन्ता बढिरहेका बेला स्थानीय तहले सुरु गरेको पानी वितरण अभियान प्रभावित नागरिकका लागि तत्कालीन राहतको माध्यम बनेको अर्का सुनबर्षीका स्थानीय डिलाराम खनालले बताउँछन् ।