© 2026
काठमाडौं । नगरकोट, बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरबाट बाहिरिएका सुकुमवासी परिवारहरू अहिले बस्ने ठाउँको अभावमा बिचल्लीमा परेका छन्। धेरै परिवारले कोठा नपाएपछि आफन्तको शरण लिनुपरेको छ भने केही अझै अस्थायी बसोबासको खोजीमै छन्।
विस्थापितहरूको भनाइअनुसार सरकारले सबै परिवारको बैंक खातामा असार १९ गते प्रतिपरिवार २५ हजार रुपैयाँ जम्मा गरिदिएपछि “अब कोठा खोजेर आफ्नै व्यवस्था गर्नुहोस्” भन्दै होल्डिङ सेन्टर खाली गराइएको हो। शान्तिनगर–गैह्रीगाउँ क्षेत्रबाट विस्थापित दीपक थापाले सरकारले मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने आश्वासन दिए पनि त्यसको प्रक्रिया र कार्यान्वयनबारे कुनै स्पष्ट जानकारी नदिएको गुनासो गरे।
उनले भने, “होल्डिङ सेन्टरबाट बसले कोटेश्वरसम्म ल्याएर छोडियो। कोठा नपाएपछि अहिले आफन्तको घरमा बसिरहेको छु। बाँकी साथीहरू कोही आफन्तकहाँ छन्, कोही अझै कोठा खोज्दै हिँडिरहेका छन्।” अर्की एक विस्थापित महिलाले पर्याप्त समय नदिई जबर्जस्ती होल्डिङ सेन्टर खाली गराइएको आरोप लगाइन्। उनका अनुसार होल्डिङ सेन्टरको क्यान्टिनसमेत बन्द गरिएपछि त्यहाँ बसिरहन सक्ने अवस्था नरहेकाले बाध्य भएर बाहिरिनुपरेको हो।
खरिपाटी होल्डिङ सेन्टरबाट बाहिरिएका पवन गुरुङले दिनभर कोठा खोज्दा पनि नपाएको र वर्षाका बीच सडकमै अलपत्र पर्नुपरेको दुखेसो सुनाए। यता बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले भने सुकुमवासीलाई अलपत्र नपारिएको दाबी गरेका छन्।
उनका अनुसार होल्डिङ सेन्टरबाट उनीहरूले रोजेको स्थानसम्म पुग्ने यातायातको व्यवस्था मिलाइएको थियो र थप व्यवस्थापनका लागि सम्बन्धित निकायले काम गरिरहेको छ। स्थायी पुनर्स्थापनाको प्रक्रिया अझै स्पष्ट हुन नसक्दा विस्थापित परिवारहरू सुरक्षित आवासको प्रतीक्षामा छन्।