© 2026
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार तथा नेपाल–भारतबिच धार्मिक र सांस्कृतिक पर्यटनलाई थप सुदृढ बनाउने उद्देश्यले लुम्बिनी होटल सङ्घ, नेपालले ‘लुम्बिनी–वाराणसी ट्राभल मार्ट तथा फ्याम ट्रिप’ आयोजना गरेको छ ।
सोमबारदेखि सुरु भएको तीनदिने कार्यक्रममा भारतका प्रमुख पर्यटकीय सहरबाट ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी तथा लुम्बिनीका होटल व्यवसायीबिच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।
लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप स्थापित गर्दै भारतीय पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यले व्यवसायीको आफ्नै पहलमा कार्यक्रम आयोजना गरिएको हो ।
उनका अनुसार पहिलो दिन भारतका विभिन्न सहरबाट आएका सहभागीलाई लुम्बिनीमा स्वागत गरिएको छ । दोस्रो दिन बिहान बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूको अवलोकन गराइनेछ भने अपराह्न बिजनेस–टु–बिजनेस (बी–टु–बी) बैठकमार्फत नेपाल र भारतका पर्यटन व्यवसायीबिच व्यावसायिक छलफल तथा साझेदारीका अवसर सिर्जना गरिनेछ । सहभागीलाई बुधबार बिदाइ गरिने कार्यक्रम छ ।
मार्टमा वाराणसी, दिल्ली, लखनउ र बोधगयालगायत भारतका प्रमुख पर्यटकीय सहरबाट २५ भन्दा बढी ट्राभल तथा टुर अपरेटर कम्पनीका प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले लुम्बिनीका होटल, पर्यटन पूर्वाधार तथा सेवा सुविधाको अवलोकन गर्नुका साथै स्थानीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार गर्नेछन् ।
अध्यक्ष शर्माले यस कार्यक्रमलाई लुम्बिनीको पर्यटन उद्योगका लागि नयाँ अन्तर्राष्ट्रिय बजार खोज्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे ।
“यो लुम्बिनीका होटल, रेस्टुरेन्ट, ट्राभल कम्पनी र समग्र पर्यटन क्षेत्रका लागि नयाँ बजार विस्तार गर्ने महत्त्वपूर्ण अवसर हो,” उनले भने, “अब लुम्बिनीका पर्यटन व्यवसायी साझा उद्देश्यका साथ एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।”
होटेल सङ्घका अनुसार कार्यक्रम सरकारी सहयोगभन्दा पनि व्यवसायीको अग्रसरता र सदस्य होटलहरूको आर्थिक सहयोगमा आयोजना गरिएको हो । केही सदस्य होटलले कार्यक्रम सफल बनाउन उल्लेखनीय सहयोग गरेका छन् ।
सङ्घले ट्राभल मार्टबाट भारतीय पर्यटन व्यवसायीसँग दीर्घकालीन व्यापारिक सम्बन्ध स्थापित भई लुम्बिनीमा विदेशी पर्यटकको आगमन वृद्धि हुने विश्वास लिएको छ ।
विश्वभरका बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र भए पनि लुम्बिनीको अन्तर्राष्ट्रिय बजारमा अपेक्षित रूपमा प्रवर्द्धन हुन नसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले निजी क्षेत्र आफैँ अग्रसर भएर पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्नुपरेको बताए ।
“यो केवल एउटा कार्यक्रम होइन,” उनले भने, “लुम्बिनीको पर्यटनको भविष्यसँग जोडिएको अभियान हो । यसले नयाँ अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धको सुरुआत गर्नुका साथै यहाँका होटल तथा पर्यटन व्यवसायको दीर्घकालीन विस्तारको आधार तयार गर्ने विश्वास लिएका छौँ ।”