© 2026
बुटवल । केही वर्ष अघिसम्म रिमा गुप्ताको सिलाइप्रतिको रुचि घरमै रहेको एउटा सामान्य मेसिनमा सीमित थियो ।
१२ कक्षादेखि नै फेसन डिजाइनसङमा रुचि राखेकी उनले आफ्नो सीपलाई व्यवसायमा रूपान्तरण गर्ने अवसर भने सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेको फेसन डिजाइनिङ तालिमबाट पाइन् । आज उनी भैरहवाको कालिकापथमा आफ्नै फेसन डिजाइनिङ स्टुडियो सञ्चालन गर्दै दुई जनालाई रोजगारी दिइरहेकी छन् ।
तालिमबाट आधुनिक फेसन डिजाइनिङ सिकेपछि उनले सामान्य सिलाइलाई व्यावसायिक रूप दिइन् । सुरुवातमा एउटा मेसिनबाट काम थालेकी रिमाले अहिले पाँच वटा मेसिन सञ्चालनमा ल्याएकी छन् । बजारको मागअनुसार डिजाइनर पोसाक तयार गर्नुका साथै उनले जुत्ता, चप्पल र महिलाले प्रयोग गर्ने हाते ब्याग निर्माणसम्बन्धी थप तालिम पनि लिइन् ।

सीपलाई निरन्तर परिष्कृत गर्दै उनी अहिले विभिन्न स्थानीय तह र संस्थामा पुगेर फेसन डिजाइनिङ, जुत्ता, चप्पल र ब्याग निर्माणसम्बन्धी तालिम दिने प्रशिक्षकसमेत बनेकी छन् । आफ्नै व्यवसायबाट नियमित आम्दानी गर्नुका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएको उनी बताउँछिन् ।
रिमा एक्लो उदाहरण होइनन् । सिद्धार्थनगर नगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमले यति बेला धेरै महिलालाई आत्मनिर्भर बनाउँदै उद्यमशीलताको बाटोमा अघि बढाएको छ । बेरोजगारी न्यूनीकरण, स्वरोजगार सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएका तालिमबाट सहभागीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्न थालेका छन् ।
नगरपालिकाले फेसन डिजाइनिङसँगै अचार बनाउने, जुत्ता–चप्पल निर्माण, चुरापोते बुन्ने, मादल बनाउने, कम्प्युटर, उद्घोषण तथा अन्य व्यवसायमुखी तालिम सञ्चालन गर्दै आएको छ । यी तालिमबाट लाभान्वित धेरैले आफ्नै घरबाट व्यवसाय सुरु गरेका छन् भने केहीले समूह बनाएर उत्पादन र बजारीकरण गरिरहेका छन् ।
अचार बनाउने तालिम लिएकी कमला दर्नाल अहिले नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको कोसेली घर मार्फत आफ्नै उत्पादन बिक्री गर्दै आएकी छन् । समूहमा आबद्ध भएर विभिन्न प्रकारका अचार उत्पादन र बिक्री गर्दै आएको उनले बताइन् ।
“घरायसी कामपछि बाँकी समय उत्पादनमूलक काममा लगाउन थालेपछि परिवारको आम्दानी बढेको छ,” उनले भनिन् ।
त्यस्तै, चुरापोते बुन्ने तालिमले पनि धेरै महिलाको जीवनमा परिवर्तन ल्याएको छ । तालिम लिएकी माला शाहका अनुसार पहिले घरायसी काममै सीमित हुने समय अहिले आम्दानी गर्ने माध्यम बनेको छ ।
स्थानीय बजारसँगै सामाजिक सञ्जालमार्फत उत्पादन बिक्री हुन थालेपछि आत्मविश्वास बढेको उनले बताइन् । अहिले चुरा र पोतेका सामग्रीको माग बढेसँगै अर्डर पूरा गर्न भ्याइनभ्याइ हुने अवस्था छ । उनले आफैँ उत्पादन गर्ने मात्र नभई विभिन्न संस्थामा प्रशिक्षकका रूपमा तालिम सञ्चालन गर्ने अवसरसमेत पाएकी छन् ।
“सीप सिकेको केही समयमै आफू स्वरोजगार बन्नु र अरूलाई पनि त्यही सीप सिकाउन पाउनु सबैभन्दा ठुलो उपलब्धि हो,” उनले भनिन् ।
सिद्धार्थनगर नगरपालिकाका अनुसार तालिमको उद्देश्य सीप सिकाउनेमा मात्र सीमित छैन, त्यसलाई आयआर्जन र उद्यमसँग जोड्नु पनि हो ।
नगर उपप्रमुख उमा अधिकारीले सीप भएका नागरिकले रोजगारी खोज्ने होइन, आफ्नै उद्यम सञ्चालन गरी अरूलाई पनि रोजगारी दिने वातावरण सिर्जना गर्नु स्थानीय सरकारको लक्ष्य रहेको बताइन् ।
“तालिमपछि सहभागीलाई स्वरोजगारतर्फ प्रेरित गर्ने, स्थानीय स्रोत र सीपको उपयोग बढाउने तथा आर्थिक रूपमा सक्षम नागरिक तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौँ,” उनले भनिन् ।
सामाजिक विकास शाखाका प्रमुख लक्ष्मण गिरीका अनुसार नगरपालिकाले १३ वटै वडाका स्थानीयको आवश्यकता र मागका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

उनले नगरपालिकाले सञ्चालन गरेका तालिमका सहभागीमध्ये धेरैले आफ्नै व्यवसाय सुरु गरिसकेको र कतिपय अहिले विभिन्न स्थानीय तह तथा संस्थामा प्रशिक्षकका रूपमा काम गरिरहेको जानकारी दिए ।
“पहिला तालिम लिने सहभागी अहिले प्रशिक्षक बनेर नयाँ समूहलाई सीप सिकाइरहेका छन्,” गिरीले भने, “यसले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन हुनुका साथै उद्यमशीलता विकासमा पनि टेवा पुगेको छ ।”
स्थानीय सरकारका यस्ता कार्यक्रमले विशेष गरी महिला, युवा र बेरोजगार वर्गलाई आत्मनिर्भरताको बाटोमा अघि बढाएको देखिन्छ । छोटो अवधिको तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै सहभागीहरूले आफ्नै गाउँ–ठाउँमा बसेर आयआर्जन गरिरहेका छन् ।
सीप, निरन्तर अभ्यास, बजारसँगको पहुँच र स्थानीय सरकारको सहयोगलाई प्रभावकारी रूपमा जोड्न सकिए यस्ता कार्यक्रमले अझ धेरै नागरिकको जीवनस्तर उकास्ने विश्वास गरिएको छ ।